बुद्धकृष्णले छैटौंपटक जिब्रो छेडाए

सञ्जीव दुलाल  / भक्तपुर

जिल्लाको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण वाग श्रेष्ठले छैटौंपटक जिब्रो छेडाएका छन् ।हजारौं जात्रालुबीच मध्यपुर थिमी बाडेमा आइतबार उनले जिब्रो छेडाएका हुन् ।  मध्यपुर थिमी–८ बोडेकै ४६ वर्षीय स्थानीय बुद्धकृष्णले करिब एक फिट लामो फलामको सुइ“रोले जिब्रो छेडाएका छन् । प्रत्येक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा सञ्चालन हु“दै आएको छ ।

जिब्रो छेडेपछि बाँस एवं निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोडे परिक्रमा गराइएको थियो । टोलटोलमा घुमाई स्थानीय पाँचो गणेश रथ भागुटोल पु¥याइएपछि सियो निकालिएको छ । त्यसपछि महालक्ष्मीको माटोले जिब्रोको प्वाल टालिदिएर सियो गणेश मन्दिरमा किलाले अड्काएर ठोकिन्छ ।

यसअघि जिब्रो छेड्ने बुद्धकृष्ण तीन दिनदेखि केही नखाई व्रत बसेका थिए । जिब्रो छेड्ने सियो एक महिनाअघि नै तयार पारी तेलमा डुबाएर राखिन्छ । सियो तयार गर्दा जिब्रो छेड्ने क्रममा रगत बग्दैन ।

थिमी नगरपालिका ८ बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आइतबार ४६ वर्षका बुद्धकृष्ण वाग श्रेष्ठ जिब्रो छेडेपछि टोलटोल घुम्दै । तस्बिर : रासस

भक्तपुर मध्यपुर थिमीमा हुने विभिन्न जात्रामध्ये जिब्रो छेड्ने प्रमुख हो । तीन दिनसम्म थिमीमा मनाइने जात्रा जिब्रो छेडेसँगै सकिन्छ ।

यसअघि श्रेष्ठले नौ वर्षअघि निरन्तर चारपटक जिब्रो छेडिसकेका थिए । आमाको निधन भएको वर्ष उनी पाँँचौंपटक जिब्रो नछेडी हटेका थिए । बुद्धकृष्ण हटेपछि जुजुभाइले निरन्तर आठपटक जिब्रो छेडेका हुन् ।

१४ वर्षअघि उनका दाजु कृष्णचन्द्रले १२ पटक लगातार जिब्रो छेडेका थिए । परापूर्वकालदेखि यो जात्रा मनाइ“दै आए पनि हालसम्म १३ जनाले जिब्रो छेडाइसकेका छन् ।

पछिल्लो विवरणअनुसार हर्कनरसिंह वाग श्रेष्ठले २२ पटक, बेखानारायण हाय श्रेष्ठले ३२ पटक, हरिदेव किला श्रेष्ठले एकपटक, हरिभासिक श्रेष्ठले तीन, इन्द्र बाटा श्रेष्ठले दुई, हर्केश्वर व्याँ श्रेष्ठले तीन, चन्द्रसेन घो श्रेष्ठले सात, दिलकुमार खपे श्रेष्ठले सात, मुनि घो श्रेष्ठले एकपटक, धर्मराज बलाम श्रेष्ठले एकपटक, कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले ६ पटक र जुजुभाइ वाग श्रेष्ठले आठपटक जिब्रो छेडाएको अभिलेख रहेको संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए ।

बोडेको जिब्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेको निलबाराही दायाँबायाँ बस्ने भूतप्रेतले बोडेवासीलाई दुःख दिन्थे ।

जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिसाच आफ्नो बसमा पारेर जिब्रो छेडेर नगर परिक्रमा गरी पठाएको मान्यता प्रचलनमा रहेको छ । यसै समयदेखि नै थिमीमा नयाँ वर्षको भोलिपल्ट जिब्रो छेडेर पिचास भगाएको सम्झना गर्दै जात्रा मनाइ“दै आएको छ ।