धम्कीपछि वडा कार्यालय बन्द

संखुवासभा / रास– जिल्लाको पाँचखपन नगरपालिका–८ र ९ नम्बरका वडा अध्यक्षमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएपछि अनिश्चितकालीन  वडा कार्यालय बन्द भएका छन् ।

गत २९ चैतमा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताले चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झन्डा गाडी एक विज्ञप्ति छाड्दै कार्यालय नखोल्न भन्दै धम्कीयुक्त पत्र छाडेको ८ वडाका वडाध्यक्ष छत्र न्यौपानेले जानकारी दिए ।

नेकपाका कार्यकताले विभिन्न नम्बरबाट फोन गर्दै कार्यालय खोले कडा कारबाही गर्ने धम्कीसमेत दिएको वडा अध्यक्ष न्यौपाने बताए । उनले भने, ‘अन्य जिल्लातिर सामान्य कारबाहीअन्तर्गत हातखुट्टा भाँच्ने मात्र भएको छ भन्दै यहाँ त्योभन्दा कडा खालको कारबाही गर्ने चेतावनी दिएका छन् ।’

हाल उत्पन्न समस्याबारे जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमा खबर गरिसकिएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले बताए । उनले भने,

‘आइतबार नै कार्यपालिकाको बैठक बसी ठप्प भएको कामकाजको कसरी समाधान गर्ने भन्ने विषयमा आजै ठोस निकास आउँछ ।’ कार्यालय अनिश्चितकालका लागि बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । सो घटनाबारे आवश्यक अध्ययन र अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।