१०७ विद्यार्थी दीक्षित हुँदै

१०७ विद्यार्थी दीक्षित हुँदै

रुपन्देही / रासस– लुम्बिनी विश्वविद्यालयबाट पहिलोपटक १०७ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षित हुनेहरूमा १५ जना विद्यावारिधि र ९१ जना स्नातकोत्तर गरेका र एक जना भारतीय विद्यार्थी रहेको लुम्बिनी विश्वविद्यालयले लुम्बिनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दियो ।

दीक्षान्त समारोहमा रञ्जन भक्तानन्द बज्राचार्य स्वर्णपदक एक तथा  ५०÷५० हजारको शारदा बज्राचार्य स्मृति पुरस्कार र साल्ट ट्रेडिङ कर्पोरेसन पुरस्कारसमेत वितरण हुने बताइएको छ ।

आंगिक क्याम्पस एक तथा सम्बन्धनप्राप्त क्याम्पस नौवटा रहेको लुम्बिनी विश्वविद्यालयले श्रीलंकाको एउटा बौद्ध विश्वविद्यालयलाई सम्बन्धन दिन पत्राचार भएको विश्वविद्यालयका रजिस्टार तीलक आचार्यले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलपतिको हैसियतमा अध्यक्षता गर्ने सो दीक्षान्त समारोहमा बौद्ध विज्ञान बुद्धिस्ट एन्ड पालि युनिभर्सिटी अफ श्रीलंकाका उपकुलपति भिक्षु प्राध्यापक डा. गल्ल्याले दीक्षान्त भाषण गर्नेछन् ।

‘बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि रचनात्मक काम गर्न चाहन्छौं,’ आचार्यले भन्नुभयो । १६ वैशाखमा आयोजना हुने उक्त समारोहमा २०६९, २०७० र २०७१ सालका विद्यार्थीलाई दीक्षित गरिनेछ ।

त्यस्तै, १५ र १६ वैशाखमा  लुम्बिनीमा अन्तर्राष्ट्रिय विश्व बौद्ध सम्मेलन हुँदै छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।