हिलो खेली जुडशीतल मनाइयो

राजधानी संवाददाता / जनकपुरधाम

माटोको हिलो एक अर्कालाई लगाएर मिथिलाञ्चलको प्रमुख पर्व जुडशीतल आइतबार मनाइएको छ । आइतबार बिहानैदेखि जनकपुरको चोक चोकमा युवाहरूले एक अर्कालाई हिलो दलेर पर्व मनाएका हुन् ।

फागु पर्वमा एक अर्कालाई रंग र अबिर दलेजस्तै हिलो माटो लगाउने गरेका थिए । हिलो खेल्ने कार्यमा सक्रिय रहेका सामाजिक कार्यकर्ता सोहन ठाकुरले आफूहरू बिहानैदेखि साथीभाइसँग खेलेको बताए । फागु पर्वभन्दा बढी उत्साहका साथ यसमा सहभागी हुने गरेको उनले बताए ।

जनकपुरका विभिन्न युवा कमिटीले हिलो माटो खेल्नका लागि विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा विभिन्न युवा क्लबका पदाधिकारी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणहरूसमेत सहभागी थिए । राम युवा कमिटीका महासचिव शम्भुप्रसाद साह प्रेमीले मैथिली संस्कृति र परम्परा जोगाउन आफूहरूले हिलो माटो खेललाई उत्सवका रूपमा लिने गरेको बताए ।

जनकपुरका विभिन्न क्लबहरूबीच यो पर्वलाई छुट्टाछुट्टै पर्वका रूपमा मनाउने परम्पराको विकास भएको छ । हिलो माटो लगाएर जुडशीतल सबैले मनाए पनि केही क्लबले यस पर्वको अवसरमा नाला र सडक सफाइ गर्ने गरेका छन् । सफाइ कार्यक्रममा सहभागी रामभजन चौधरीले समाजमा सकारात्मक सन्देश दिने सो पर्वको अवसरमा नाला सफाइ गरेको जानकारी दिएका छन् । ग्रामीण क्षेत्रमा अरू भव्यताका साथ जुडशीतल पर्व मनाउने गरिन्छ । धनुषाको मुरिवा गाविसका अधिकांश व्यक्ति एक ठाउँमा जम्मा भएर हिलो माटो खेलेका थिए ।

यो पर्वका दिन घरघरमा बासी बरी भात खाने चलन रहेको छ । जुडशीतलका दिन चुल्होलाई विश्राम दिने चलन मिथिलाञ्चलमा रहेको छ । साथै सिकार खेल्ने परम्परा पनि यस दिनमा रहेको छ ।

यसैबीच जनकपुरको गंगासागरमा सेभ हिस्टोरिकल जनकपुरले एक कार्यक्रम गरेको छ । सो कार्यक्रममा प्रदेश २ का मुख्यसचिव राजेश्वरमान सिंह, विद्यायक रामअशिष यादव, सांस्कृतिविद् डा. भोगेन्द्र झा, विजय दत्तलगायतले हिलो माटो लगाएर पर्व मनाएका थिए ।