‘सेटिङ’मा गोरु तस्करी हुँदै

रद्र सुवेदी / नेपालगन्ज

बाँके र बर्दियाबाट ‘सेटिङ’ मिलाएर गोरु तस्करी हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएर गएको विशेष टोलीले शनिबार राति डुडुवा गाउँपालिका–४ खालेमशाहबाट ४३ वटा गोरु नियन्त्रणमा लिएपछि सो घटना खुलेको हो ।

भारतको विभिन्न सीमावर्ती गाउँ तथा बजारबाट संकलन गरी अवैध तरिकाबाट नेपाल ल्याइएका गोरु पूर्वी नाका हुँदै बंगलादेश पठाइने गरिएको स्रोतले जनाएको छ । राजधानीलाई प्राप्त जानकारीअनुसार भारतका सीमावर्ती गाउँबाट चरिरणका लागि दशगजामा ल्याउने र सजिलै नेपाल प्रवेश गराउने गरिएको छ ।

‘भारतबाट भन्सार र क्वारेन्टाइनसमेत नगरी आवतजावत नहुने नाकाबाट सजिलै चरीचरणमा ल्याएको जस्तो गरी नेपाल प्रवेश गराउने र दिनभरि विभिन्न गाउँमा बाँधेर राख्दै रातिराति मात्र हिँडाउने गरिन्छ’–स्रोतले नाम उल्लेख नगर्ने सर्तमा राजधानीलाई जानकारी दियो ।

बाँके र बर्दियाका विभिन्न नाकाबाट भिœयाइएका गोरु संकलन गरी पूर्व–पश्चिम राजमार्गबाट नजिकै रहेको शमशेरगन्जको जंगलबाट राति मात्र ट्रकमा लोड हुने गरेको स्रोतले दाबी गर्दै भन्यो–‘राकेश नाम गरेको व्यक्तिले प्रहरी प्रशासनसँग लाइन मिलाएकाले अवैध तरिकाले गोरु लोड गरिएका ट्रक सजिलै राजमार्गमा दौडिने गरेका छन् ।’

स्रोतले दिएको जानकारीअनुसार राकेशले नै सीमा क्षेत्र तथा राजमार्गमा रहेका प्रहरीका विभिन्न युनिटलाई ‘लाइन’ दिने गरेकाले लामो समयदेखि गोरुको अवैध तस्करी हुँदा सुरक्षा निकाय मौन बसेको हो ।

‘लाइनमेन राकेशले लाइन क्लियर गरेपछि मात्र ‘मुल्ला’ भन्ने व्यापारीलगायतको समूहले विभिन्न स्थानबाट नेपाल प्रवेश गराई राप्ती सोनारी गाउँपालिकाको शमशेरगन्ज जंगलमा पु¥याउने र हरेक कन्साइनमेन्ट राति ११ बजे लोड गरेर काँकडभिट्टाबाट भारत हुँदै बंगलादेश पठाउने गरिएको छ,’ स्रोतले भन्यो ।

शनिबार शमशेरगन्जको जंगलमा लोडिङका लागि लैजान तयारी अवस्थामा बाँकेको डुडुवा गाउँपालिका–४ खालेमशाहबाट ५० वटा गोरु संकलन भएकै अवस्थामा जिल्ला प्रहरीको एउटा टोलीले नियन्त्रणमा लिन छापा मार्दा ४३ वटा मात्र गोरु नियन्त्रणमा लिन सफल भएको छ । अँध्यारोमा ७ वटा भेट्न नसकेको सो टोलीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका सो गोरु सीमा प्रहरी कार्यालय जयसपुरमा राखिएको छ । ‘प्रहरीले ती गोरु नियन्त्रणमा लिँदै गर्दा टोलीलाई माथिल्ला निकायबाट समेत दबाब आएको थियो,’ स्रोतले भन्यो ।

पछिल्लो समयमा गोरु तस्करी गरेर भारतको उत्तरप्रदेश तथा आसपासबाट संकलन गरी नेपाल ल्याउने भन्सार तथा पशु क्वारेन्टाइनबाट समेत कागजपत्र मिलाएर पूर्वी नाका हुँदै बंगलादेश पु¥याउने गरिन्छ ।