बेंसीसहरमा पानी अभाव

जनक श्रेष्ठ / लमजुङ

पर्यटकीय जिल्ला लमजुङको सदरमुकाम बेंसीसहरका स्थानीयहरू घरमा पानीको धारा र पानीको मिटर जडान भए पनि गएको करिब तीन महिनाबाट घरका धाराबाट पानीको थोपासमेत झरेको छैन ।

घरको धारामा खानेपानी नआउँदा स्थानीयले एक गाग्री पानीका लागि मात्र कम्तीमा ३० मिनेट खर्च गर्दै आएका छन् । पिउने पानीकै समस्या टार्न मुस्किल परिरहेका बेला लुगा धुने र नुहाउने त कुरै नगरौं, स्थानीय राजकुमार दाहालले गुनासो गरे । खानेपानी कार्यालयले जडान गरेको धाराबाट पानी आपूर्ति नहुँदा दैनिक सरसफाइमा समस्या भइरहेको बेंसीसहर नगरपालिका–८ स्थित विद्या विकास बोर्डिङमा अध्ययरत विद्यार्थी सिर्जना श्रेष्ठले बताइन् ।

‘पानी नहुँदा समयमा विद्यालय पोसाकसमेत धुन पाइँदैन,’ उनले भनिन् । उनका अनुसार पानी पिउनका लागि स्कुलका विद्यार्थीहरूले कुवा चाहार्दै आएका छन् ।

सदरमुकाम बेंसीसहरका अधिकांश स्थानीयहरूसँगै विशेष गरी पर्यटन व्यवसायीहरूलाई पानीको अभावले सकस बनाएको छ । पर्यटन आवागमनको याममा पानी नहुँदा पर्यटकहरूलाई सेवा र सुविधा दिन कठिनाइ भइरहेको होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूको गुनासो छ । होटल व्यसवसायी विशाल लोहनीले भने, ‘पर्यटकहरूको लागि यो मौसम पिक सिजन हो, पानीको अभावमा व्यापार गर्न मुस्किल भइरहेको छ ।

निजी घरमाभन्दा होटलहरूमा बढी मात्रामा पानीको खपत हुने गरेको छ । अन्नपूर्णा क्षेत्र विदेशी पर्यटकहरूका लागि वसन्त ऋतु पदयात्राका लागि मुख्य याम हो । जिल्लामा विदेशी पर्यटकहरूको आगमन बढिरहेको छ । तर, पर्याप्त पानीको अभावमा होटल तथा रेस्टुरेन्टहरू दिनदिनै दुर्गन्धित हुन थालेको व्यवसायीहरूको गुनासो छ

त्यस्तै, बेंसीसहरस्थित जिल्ला सामुदायिक अस्पतालमा समेत पानीको अभावमा सेवा सुविधामा समस्या हुन थालेको अस्पताल स्रोतले जनाएको छ । धारामा पानी पर्याप्त नहुँदा बेंसीसहरका उपभोक्ताहरूले बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई गुनासो गर्दै आएका छन् ।

सुक्खा जमिन भएकाले पानीको मुहान र खोलाहरू नै सुक्दै गएकाले पानी कम आएको बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए । पानी कम भएकाले बिहान र बेलुका मात्र पानी वितरण गरेका छौं । अहिले आइरहेको पानी पनि कम हुँदै गएकाले अझ केही महिना पानी कम हुने उनले बताए । बेंसीसहर नगरपालिकाभित्र २ हजार ६७० वटा धारामा पानी वितरण भएको र उक्त धाराको पानी करिब ५० हजार जनाले प्रयोग गर्दै आएको अनुमान समितिको छ । समितिका अनुसार बिहान र बेलुकी गरी मुस्किलले १७ लाख लिटर पानी वितरण गरिरहेको दाबी गरेको छ ।

समितिका अनुसार बेंसीसहरवासीलाई पर्याप्त खानेपानी वितरणका लागि दैनिक करिब ५२ लाख लिटर पानी आश्वयक रहेको छ । यतिबेला खानेपानी ट्यांकी दुई ठाउँमा गरी साढे ७ लाख लिटर रहेको र पानी कम आएकाले ट्यांकी भरिन समय लागेकाले दुई समय मिलाएर पानी दिएको समितिले जनाएको छ ।

बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले डुद खोला, मधिर, लब्ले, साम्ली, फुर्केभीर, पुमा खोलालगायतका ठाउँको पानी खानेपानी ट्यांकीमा जम्मा गरी वितरण गर्ने गरेका छन् । उक्त ठाउँमा पानी कम हँुदै गएकाले समस्या आए पनि तत्कालै कुनै विकल्प नभएकाले बेंसीसहरवासीलाई पानीको निकै समस्या हुन थालेको छ । बेंसीसहरवासीलाई अझै आगामी १५ असारसम्म पर्याप्त मात्रामा पानी दिन नसकिने समितिले स्पष्ट पारेको छ ।

बर्षेनि पानीको अभाव हुने भएकाले दीर्घकालीन रूपमै खानेपानी समस्या समाधानका लागि खानेपानीको ट्यांकी निर्माण भइरहेको समितिले जनाएको छ ।