सिरियामाथिको आक्रमण गुन्डागर्दी : रुस , रासायनिक हतियार प्रयोग भए पुनः आक्रमण गर्ने अमेरिकाको धम्की

एजेन्सी / न्युयोर्क

रुसले सिरियामाथि अमेरिका, फ्रान्स र बेलायतले गरेको क्षेप्यास्त्र हमलालाई गुन्डागर्दीको संज्ञा दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषद्मा राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेभेन्जियाले सिरियामा मिसाइल हमला गरेर अमेरिकासहितका राष्ट्रले अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन गरेको आरोप लगाए ।

सुरक्षा परिषद्मा सिरियामाथि अमेरिका, फ्रान्स र बेलायतले गरेको हमलाको भत्र्सना गर्न भने रसियाले समर्थन जुटाउन सकेन । गत साता भएको भनिएको सन्दिग्ध रासायनिक हमलाको जवाफमा भन्दै शनिबार राति तीन राष्ट्रले सिरियाका विभिन्न स्थानमा क्षेप्यास्त्र हमला गरेका थिए ।

सिरियाको पूर्वी गुटाको डुमामा भएको भनिएको सो रासायनिक हमलाको अन्तर्राष्ट्रिय जाँच सुरु हुनुभन्दा अघि नै क्षेप्यास्त्र हमला गरेकाले यो पूर्वयोजनाअनुसारको आक्रमण भएको नेभेन्जियाले दाबी गरे ।

उनले भने, ‘यसमा योजनाअनुसार भएको छ । यस मामलामा उक्साइएको छ, झूठो आरोप लगाएर हमला गरिएको छ । के तपाईं यसरी अन्तर्राष्ट्रिय समस्यालाई समाधान गर्न सक्नुहुन्छ ? यो अन्तर्राष्ट्रिय मामलामा गुन्डागर्दी हो ।’

तर, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले रासायनिक हतियारको प्रयोग रोक्न अमेरिका अर्को पटक पनि आक्रमण गर्न तयार रहेको बताइन् ।

उनले अमेरिका, बेलायत र फ्रान्सले गरेको सैन्य कारबाही अमेरिकाले बसर अल असदको सरकारलाई रासायनिक हमला गर्न नदिने स्पष्ट सन्देश भएको बताइन् ।

उनले शनिबार राति भएको कारबाहीबाट नष्ट गरिएको शोध केन्द्रको प्रयोग ठूलो मात्रामा हत्याका लागि हतियार बनाउन प्रयोग गरिने गरेको आरोप लगाइन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुनः यस्तै विषालु ग्याँसको प्रयोग गरेमा फेरि हमला गर्न तयार रहेको बताएका छन् ।

सुरक्षा परिषद्को बैठकमा सिरियाका राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सलाई झूठो आडम्बरी बताउँदै चर्को आलोचना गरेका छन् । उनले भने, ‘के मेरो देशमाथि हमला गर्न तपार्इंहरूको सरकारले यो संगठन र अन्तर्राष्ट्रिय समुदायसँग जनादेश हासिल गरेको थियो ? अमेरिका, फ्रान्स र बेलायतका मित्रहरू सिरियामा रासानिक हतियार बनाउने स्थानमा बम गिराएको दाबी गरिरहनुभएको छ । यदि यी तीन देशका सरकारले सही स्थान या यिनीहरूको भूमिकाका बारेमा यति सबै थाहा थियो भने उनीहरूले किन ओपीसीडब्लु (अर्गनाइजेसन फर प्रोहिबिसन अफ केमिकल वेपन्स) लाई किन जानकारी गराएनन् ? उनीहरूले यो हमलाअघि दमास्कसमा फ्याक्ट–फायरिङ मिसनलाई किन गराएनन् ?’ पेरुसको राजधानी लिमामा रहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भने अमेरिकाले यो हमलाका लागि आफ्ना गुप्तचर प्रयोग गरेको बताएका छन् ।

आक्रमणविरुद्ध अमेरिकामा हस्ताक्षर संकलन

अमेरिकाको नेतृत्वमा सिरियामा भएको आक्रमणविरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसअगाडि विरोधका लागि जम्मा भएका दर्जनौं प्रदर्शनकारीले सो आक्रमणविरुद्ध हस्ताक्षर संकलन गरेका हुन् । अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नबित्दै उनीहरूले हस्ताक्षर संकलन सुरु गरेका थिए ।

प्रदर्शनकारीहरूले पहेंलो ब्यानरसहित ‘सिरियालाई मुक्त गर’, ‘सिरियामा अमेरिकाको युद्ध हुँदैन’, ‘सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यसले उनीहरूलाई मार्छ,’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

उनीहरूले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए । उनीहरूले विभिन्न सहरमा शृंखलाबद्ध रूपले प्रदर्शन गरेका छन् । सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका हुन् । यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारहरूको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको आरोप लगाउँदै सिरियामाथि हमला गरेको हो । यसैबीच, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठकमा उपस्थित संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले सिरियाबारे गम्भीर भएर सोच्न आग्रह गरेका छन् ।

सिरियाको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेको भन्दै उनले यसको समाधान गम्भीर रूपमा नै सोचेर गर्नुपर्नेमा जोड दिए । उनले सिरियाले रासायनिक हतियारले आक्रमण गरेर नागरिक हत्या गर्नु ठूलो भूल भएको भन्दै त्यसविरुद्ध हतियारकै कारबाही विकल्प नभएको बताए ।