झ्याली पिटेर अनुगमन गरिँदैन : आपूर्तिमन्त्री

राजधानी समाचारदाता / काठमाडौं

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले झ्याली पिटेर बजार अनुगमन नगरिने बताएका छन् । उनले बजार अनुगमन गर्दा बजारमा हल्ला बढी हुने गरेको तर त्यसको प्रभाव खासै नदेखिएको भन्दै बजार अनुगमन गर्न हल्ला नगरिने बताए ।

मन्त्री यादवले आइतबार गरेको पत्रकार सम्मेलनमा अबदेखि हुने बजार अनुगमनमा सरकारी प्रतिनिधिबाहेक कसैलाई पनि सहभागी नगराउने घोषणा गरे । ‘हामी अबदेखि हुने बजार अनुगमनमा सञ्चारमाध्यमका प्रतिनिधिलाई पनि सहभागी गराउँदैनौं,’ उनले भने, ‘हामी कसैप्रति पूर्वाग्रह पनि छैनौं र बिनादोष कसैलाई दोषी पनि भन्दैनौं ।’

बजार अनुगमन निर्देशिका संशोधन गरेर अबका दिनमा बजार अनुगमन गरिने बताए । मन्त्रीमा नियुक्त हुनेबित्तिकै गत फागुन दोस्रो सातादेखि बजार अनुगमन नै रोक्न दबाब दिँदै आएका मन्त्री यादवले अबका केही दिनमा कडाइका साथ अनुगमन गरिने प्रतिक्रिया दिए ।

अहिलेसम्म हुँदै आएको बजार अनुगमन निश्चित व्यक्तिको स्वार्थमा भएको र अबका दिनमा कसैप्रति पूर्वाग्रही भएरसमेत अनुगमन नगरिने उनको भनाइ थियो ।

अबका दिनमा हुने बजार अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल नापतौल तथा गुणस्तर विभाग र आपूर्ति व्यवस्थापन विभागले संयुक्त रूपमा गरिनेछ । अहिलेसम्मको अनुगमन खासै प्रभावकारी हुन नसकेको र अबका दिनमा बजार अनुगमन व्यस्थित गर्नका लागि पुराना ऐन, कानुनलाई संशोधन गरिने समेत बताउँदै उनले अबका दिनमा बजारमा गडबड हुन नपाउने बताए ।

त्यस्तै, पछिल्लो समय विद्यालयहरूले लिने गरेको भर्ना शुल्कमा समेत जथाभावी शुल्क लिइरहेका खबर आइरहेकाले शिक्षा मन्त्रालयलाई शुल्कमा एकै किसिमका शुल्क निर्धारण कायम गर्न निर्देशन दिनका लागि लिखित पत्र पठाएको भन्त्री यादवको भनाइ थियो ।

आपूर्ति मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौड्यालले संयुक्त बजार अनुगमन निर्देशिका र उपभोक्ता संरक्षण ऐन संशोधन गरिने बताए ।उनले पछिल्लो समय कानुन अधिकृतको अभावमा कैफियत भेटिएका व्यावसायिक फर्मलाई समेत कारबाही गर्न नसकिएको भन्दै अब वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा कानुन अधिकृतको दरबन्दी खडा गरेर एक जना कानुन अधिकृतको व्यवस्था गरिनेसमेत बताए । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार अनुगमन स्वच्छ तरिकाले गर्नुपर्ने बताए ।