थाई–लायन एयरकोे काठमाडौं सिधा उडान अनुमति

काठमाडौं / रास— एसियाली मुलुक थाइल्यान्डको ‘थाई–लायन’ एयरले काठमाडौंमा सिधा उडान भर्ने अनुमति पाएको छ । सो एयलाइन्सले आगामी २ जेठबाट काठमाडौं सिधा नियमित व्यावसायिक उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाइल्यान्डको थाइ–लायन एयरलाई सातामा सातपटक उडान भर्नेगरी उडान अनुमति जारी गरेको हो । सो एयरलाइन्सलाई साताको तीनपटक नियमित र चारपटक अस्थायी किसिमको उडान भर्न पाउनेगरी अनुमतिपत्र दिइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले  जानकारी दिए ।

यो एयरलाइन्सले थाइल्यान्डको बैंककस्थित दन मुयाङ इन्टरनेसनल एयरपोर्टबाट उडान भर्नेछ । यो कम्पनीको प्रवेशसँगै थाइल्यान्डबाट नेपालमा सिधा उडान भर्ने कम्पनी दुईवटा पुगेका छन् । थाइल्यान्डको सरकारी ध्वजावाहक थाई एयरवेजले सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले थाई एयरवेजले यस्तो सेवा दिइरहेको छ । अहिले सोही मुलुकको अर्को वायुसेवा कम्पनी थाई लायन आए पनि नेपालबाट अन्तर्राष्ट्रिय उडानमा भर्ने वायुसेवा कम्पनीहरूको संख्या ३० वटा पुगेको छ ।

थाइल्यान्डको लायन एयरलाइन्सको भगिनी थाई–लायन एयरलाइन्सले विभिन्न २२ वटा गन्तव्यमा उडान भर्दै आएको छ  । नयाँ वायुसेवा थाई लायनले नेपालमा बोइङ ७३७–८०० विमानबाट उडान भर्ने जनाएको छ । यो वायुसेवाको आगमनपछि एसियाली मुलुकहरूबाट आउने पर्यटकको संख्या बढाउने लक्ष्यलाई समेत सहयोग पु¥याउनेछ ।