नारायणहिटी संग्रहालयबाट २३ करोड राजस्व

काठमाडौं / रासस– नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् ।

१५ जेठ २०६५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको १६ फागुनदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो ।

नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५१०, नेपाली सर्वसाधारण १३ लाख ६५ हजार ९१, चीनसहित सार्क मुलुकका १ लाख ५५ हजार ५७६ र अन्य मुलुकबाट ६५ हजार ३०८ जनाले अवलोकन गरेका छन् । यसबाट  २३ करोड २४ लाख ५१ हजार ५०५ रुपैयाँ राजस्व संकलन भएको छ ।

टिकट बिक्रीबाट २३ करोड ९ लाख ६७ हजार ३ सय र सवारीसाधन पार्किङबाट १४ लाख ८४ हजार २०५ आम्दानी भएको संग्रहालयका सूचना अधिकारी अद्धैत श्रेष्ठले जानकारी दिए । ‘नेपाली विद्यार्थीलाई २०, नेपाली सर्वसाधारणलाई सय, चीनसहित सार्क मुलुकका दर्शकलाई २५० र अन्य मुलुकका दर्शकलाई ५ सय लिँदै आएका छौं,’ उनले भने ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म मात्र २ लाख ३५ हजार ५३४ दर्शकले संग्रहालय अवलोकन गरेकामा ८७ हजार ९१८ विद्यार्थी, १ लाख २८ हजार ६२ सर्वसाधारण, १३ हजार २१३ चीनसहित सार्क मुलुकका दर्शक र ६ हजार ३४१ अन्य मुलुकका दर्शक रहेका छन् । यस वर्ष मात्र २१ लाख ३ हजार ८३१ राजस्व संकलन भएको छ ।

यस्तै, ८ हजार ३९२ सवारी पार्किङबाट १ लाख ३५ हजार ८७५ संकलन भएको छ । संग्रहालयले मोटरसाइकल पार्किङका लागि १०, कार र जिपका लागि २५ र माइक्रो, भ्यान, मिनीबस र बसका लागि ५० दस्तुर लिँदै आएको छ ।      मंगलबार र बुधबारबाहेक पाँच दिन सर्वसाधारणका लागि खुला गरिने संग्रहालय दिनको ११ देखि ३ बजेसम्म अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ ।

संग्रहालयभित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका १९ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ ।

नारायणहिटी दरबार संग्रहालयका कार्यालय प्रमुख रोहितकुमार ढुंगाना संग्रहालयलाई थप व्यवस्थित बनाउन सके दर्शकको संख्या वृद्धि हुने बताउँछन् ।

‘विभिन्न कारणले दरबारभित्र रहेको श्रीपेचलगायतका सामग्री देखाउन सकिएको छैन, यस्ता वस्तुलाई समेत अवलोकनमा राख्न सके थप दर्शक भिœयाउन सकिन्छ,’ उनी भन्छन् । संग्रहालय घुम्न आउने दर्शकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ ।

संग्रहालयभित्र झोला, क्यामेरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही गरिएको छ । गुल्मकी प्रमुख पूर्णिमा चन्दले दैनिक हजारदेखि ३ हजार दर्शकलाई जाँच गरेर संग्रहालयको अवलोकनका लागि पठाउने गरेको बताउँछिन् ।