जीविकोपार्जनको माध्यम बन्दै माहुरी पालन

नरेन्द्र कार्की / दार्चुला

माहुरी पालन व्यवसाय जीविकोपार्जनको माध्यम बनेको छ । लेकम गाउँपालिका–१ सजाली सर्मौलीका ४५ वर्षीय गणेशसिह कार्कीको खेतभरी माहुरीका घार छन् । घरवरिपरि माहुरीका घार राख्न ठाउँ नभएपछि खेतमै माहुरीका घार राखेर व्यवसाय थालेका छन् ।

बिहानदेखि बेलुकीसम्म उनको दैनिकी माहुरीको स्याहार गर्नु हो । एक घारबाट अर्को घारमा माहुरी सार्नेदेखि लिएर माहुरीको घार निर्माण गरेर बिक्री गर्ने काममा व्यस्त छन् । जिल्लाकै उत्कृष्ट उद्यमीका रूपमा उनले व्यावसायिक रूपमा माहुरी उत्पादन थालेका छन् । मह उत्पादन गर्ने भन्दा पनि माहुरी उत्पादन गरेर उनले व्यवसाय सञ्चालन गरेका छन् । अहिले उनको घरमा ६२ वटा माहुरीका घार छन् । ‘वर्षमा ४÷५ सय बढी माहुरीका घार उत्पादन गरेर बिक्री गर्छु,’ उनले भने । मह उत्पादनभन्दा बढी माहुरी उत्पादन गरेर बिक्री गर्ने गरेको उनको भनाइ छ ।

एक घारमा उत्पादन गरेको माहुरी असोज कात्तिकको समयमा पुग्दा तीन घारमा राख्न मिल्छ । अहिलेको समयमा माहुरीले मह निकाल्दैन । माहुरीलाई जोगाउन मह छोड्नुपर्ने र असोज कात्तिकको समयमा पर्याप्त आहारा पाइने भएका कारण एउटै सिजनमा तीनपटकसम्म मह निकाल्न मिल्ने गरेको कार्की बताउँछन् ।

वार्षिक रूपमा ७ क्विन्टलसम्म मह उत्पादन हुने उद्यमी कार्की बताउँछन् । अहिले गाउँमै ७ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्म मह बिक्री हुन्छ । ‘माहुरीबाटै परिवारको खर्च धान्न पुगेको छु,’ उनले भने । कार्कीका अनुसार मह उत्पादन हुनेबित्तिकै बिक्री भइहाल्छ । उत्पादित मह दार्चुला, बैतडी, डडेल्धुरासम्म बिक्री हुने गरेको छ । महका लागि व्यापारीहरू घरसम्मै आउने गरेका छन् ।

माहुरी उत्पादनसँगै माहुरीको घार र माहुरी बिक्री गर्ने गरेको कार्कीले सुनाए । माहुरीसहित घारको मूल्य ८ हजार रुपैयाँमा कारोबार हुन्छ । खाली घार मात्रै ३ हजार रुपैयाँ छ । ‘पाँच वर्षअघिसम्म घरमा पुरानो काठेघार एउटै मात्र थियो । काठेघारमा उत्पादन भएको मह खानलाई ठिक्क हुन्थ्यो, गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम रिड्स नामक गैरसरकारी संस्थाले माहुरी पालनसम्बन्धी एक साता तालिम दिएपछि मेरो दैनिकी फेरिएको हो,’ उनले सुनाए, ‘तालिममा बसेपछि आधुनिक माहुरी घार निर्माण र माहुरी उत्पादन गर्न सिकें ।’

पहिले घरमा तरकारी उत्पादन र बाख्रा पालन गर्थे । जब माहुरीबाटै मनग्ये आम्दानी गर्न थाले त्यसपछि विस्तारै अन्य व्यवसायमा ध्यान दिन छोडिएको छ । उनले अहिले गाउँभरी माहुरी पालनबारे तालिम दिने गरेका छन् । सर्मौलीमा मात्र १०÷१२ परिवारले व्यावसायिक रूपमा माहुरी पालन गर्न सुरु गरेका छन् ।

१० देखि १५ घार माहुरी अरूले पनि बनाउन थालेका छन् । सोही ठाउँका मानबहादुर कार्की पनि अहिले माहुरीको मह बिक्री गर्ने गरेको बताउँछन् । उनले भने, ‘सुरुमा माहुरी पालनबारे जानकारी थिएन, अहिले तालिम पाएपछि विस्तारै व्यावसायिक रूपमा पाल्न थालेका छौं ।’

जिल्लामा गरिबी निवारण कोषअन्तर्गत दार्चुला विकास संगठनले समेत भगवतीमा माहुरी पालन तालिम दिएपछि व्यावसायिक उद्यमी सिर्जना भएका छन् । भगवतीका गौरसिंह बोहरा अहिले माहुरी पालनसम्बन्धी तालिम दिन जिल्लाभरी डुल्ने गरेका छन् । मालिकार्जुन गाउँपालिका–२ का वडाअध्यक्ष गणेशसिंह धामीले जनताको कामसँगै माहुरी पालन व्यवसाय सञ्चालन गरेका छन् । ‘राजनीति फरक पाटो हो, राजनीति गर्न व्यवसाय चाहिन्छ,’ उनले भने ।

दार्चुलाको मालिकार्जुन गाउँपालिकाको भगवती, मार्मा गाउँपालिकाको शेरी, महाकाली नगरपालिकाको धाप निशिल, व्यास गाउँपालिकाको सुनसेरालगायतका क्षेत्रमा माहुरी पालन हुने गरेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका सूचना अधिकारी हरीदत्त जोशीले बताए । विगतदेखि नै माहुरी पकेट क्षेत्रका रूपमा विकास गर्दै माहुरीसम्बन्धी तालिम दिइने गरेको छ ।