साधना लघुवित्तको साधारण सभा

काठमाडौं / रास– साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको प्रथम साधारण सभाले एकबराबर एक कित्ता हकप्रद  सेयर जारी गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।

हकप्रद सेयर जारीपछि वित्तीय संस्थाको अधिकृत पुँजी १० करोड, चुक्ता पुँजी ४ करोड ९०  लाख र जारी पुँजी ७ करोड पुग्नेछ । त्यस्तै, सभाले कृष्णबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समितिसमेत निर्विरोध निर्वाचित गरेको छ । जसको सञ्चालकमा राधाकृष्ण भण्डारी, रमेश सापकोटा र दिनेश थकाली रहेका छन् भने सोही दिनको सञ्चालक समितिको बैठकले अर्जुनकुमार सिंहलाई सञ्चालकमा मनोनयन गरेको छ ।

साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले वित्तीय क्षेत्रमा नवीनतम अवधारणा विकास गरी नमुना लघुवित्तका रूपमा स्थापित गर्ने सोचका साथ अघि बढेको र अहिले वित्तीय संस्थाहरू नाफामुखी र बजारकेन्द्रित भएको परिपे्रक्ष्यमा यस वित्तीय संस्थाले ग्रामीण भेगमा गई वित्तीय कारोबारका साथै सामाजिक कार्य पनि गर्दै आएको बताए ।

नेपाल राष्ट्र बैंकका निर्देशक राजनविक्रम थापाले जोखिम न्यूनीकरण र सेयरधनीलाई सक्रिय हुन आग्रह गर्दै नाफाभन्दा वित्तीय पहुँच विस्तार गर्न अनुरोध गरे । त्यस्तै, संस्थापक सेयरधनी विश्वजय पुडासैनीले निर्वाचित सञ्चालक समितिलाई सफल कार्यकालको शुभकामना दिए ।  यो वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा विपन्न वर्गको आर्थिक र सामाजिक रूपान्तरणमा महŒवपूर्ण भूमिका खेल्दै आएको बताए । उनले हालसम्म वित्तीय संस्थाले १५ वटा शाखा कार्यालयमार्फत ६ हजार ५ सयभन्दा बढी सदस्यलाई  समूहमा आबद्ध गराई ३ हजार ऋणी सदस्यमा २८ करोड कर्जा लगानी गरेको र ३ करोड ५० लाख असुली भएको जानकारी गराउँदै वित्तीय संस्थाले आगामी दिनमा ग्रामीण क्षेत्रमा थप शाखा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।