टेलिकमको ह्याप्पी सोसल मिडिया प्याक योजना

राजधानी समाचारदाता  / काठमाडौं

नेपाल टेलिकमले आमाको मुख हेर्ने दिन ह्याप्पी सोसल मिडिया प्याक योजना ल्याएको छ । टेलिकमको जीएसएम तथा सीडीएमए सेवालाई लक्षित गर्दै यो योजना ल्याएको हो । यसमा ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने टेलिकमले जनाएको छ । यो योजना भोलि (सोमबार) देखि १८ वैशाखसम्म कार्यान्वयनमा आउने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत २१ रुपैयाँमा २५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने र सात दिनसम्म प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ । ह्याप्पी सोसल मिडिया प्याक चलाउँदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नुपर्ने टेलिकमले जनाएको छ ।

त्यस्तै, कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यार्थी अफर ल्याएको छ । विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क दिने जनाउँदै टेलिकमले सो रकममध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्नजस्ता सबै सुविधा उपयोग गर्न सकिने उल्लेख छ । कम्पनीका अनुसार बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिनेछ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

विद्यार्थीहरूलाई ६ महिनासम्म बोनसका रूपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध कम्पनीले जनाएको छ । यो सुविधा उपभोग गर्ने समयावधि सात दिनको हुने कम्पनीले जनाएको छ ।