दुई दर्जन सिनेमालाई ब्लक बस्टर अवार्ड

राजधानी समाचारदाता / काठमाडौं

हरेक पटक नयाँनयाँ नाममा अवार्ड र सम्मान प्रदान गर्दै आएका आरके (रामबहादुर) सुवेदीले नयाँ वर्षको उपलक्ष्यमा राजधानीमा एक समारोहबीच चलचित्रकर्मीलाई ब्लक बस्टर अवार्ड २०७४ बाट सम्मानित गरेका छन् ।

उनले २०७४ सालभरि प्रदर्शनमा आएका ९३ चलचित्रमध्ये व्यावसायिक रूपमा सफल भएका दुई दर्जन चलचित्रलाई अवार्ड प्रदान गरेका हुन् । उनले चलचित्र घामपानीबाट निर्माता रामबाबु गुरुङ, निर्देशक दीपेन्द्र लामा, राधेबाट निर्माता सुशील पोखरेललाई, म यस्तो गीत गाउँछुबाट निर्देशक सुदर्शन थापा, निर्मात्री÷अभिनेत्री पूजा शर्मालाई, प्रेमगीत–२ का निर्माता सन्तोष सेनलाई अवार्ड प्रदान गरियो ।

यस्तै, ए मेरो हजुर–२ बाट निर्माता सुनीलकुमार थापा, निर्देशक झरना थापालाई, २ रुपैयाँबाट निर्देशक निश्चल बस्नेत र निर्माता आशिफ शाहलाई, छक्का पञ्जा २ बाट निर्माता दीपाश्री निरौला, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सुमनराज गिरीलाई, फाटेको जुत्ताबाट निर्माता अर्जुनकुमार डंगोललाई, ऐश्वर्यबाट निर्माता रमेश उप्रेती र निर्मल शर्मालाई, चलचित्र झ्यानाकुटीकी निर्मात्री निशा अधिकारी र सिमो सुनालाई, मिस्टर झोलेबाट निर्माता निर्देशक रामबाबु गुरुङ, टेकेन खड्कालाई सो अवार्ड प्रदान गरियो । यस्तै, पिँजडा ब्याक अगेनबाट निर्माता श्रीराम बराल, मौनता श्रेष्ठ, निर्देशक हिमाल केसीलाई, चलचित्र कृबाट निर्माता सुवास गिरी र भुवन केसीलाई, चलचित्र कान्छीबाट निर्माता श्वेता खड्का, निर्देशक आकाश अधिकारी, मंगलमबाट निर्माता छवि ओझा, नायिका शिल्पा पोखरेल, निर्देशक नवल नेपाललाई, चलचित्र शत्रुगतेबाट मह सञ्चार तथा निर्माता किरण केसीलाई ब्लक बस्टर अवार्ड प्रदान गरियो ।

कार्यक्रममा ११ हजार रुपैयाँ राशिको ‘अग्रज सुवेदी पत्रकारिता पुरस्कार’ पत्रकारहरू दीपक श्रेष्ठ ‘विहीन’, कुवेर गिरी र उत्सव रसाइलीलाई प्रदान गरियो । नोट डिलाइनर सुन्दर श्रेष्ठलाई पनि विशेष सम्मान गरियो ।