स्थानीय तहमा पाठ्यक्रम अनिवार्य

स्थानीय तहमा पाठ्यक्रम अनिवार्य

 

भक्तपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । भक्तपुरकै ऐतिहासिकता समेटिने गरी स्थानीय तहमा पाठ्यक्रम लागू भएपछि अन्य स्थानीय तहलाई पनि दबाब पर्ने सम्भावना बढेको छ । पछिल्लो समय नेपालका शैक्षिक संस्थामा पढाइ हुने विभिन्न विषयमा विदेशी विषयवस्तुले महŒव पाएको तर आफ्नै मुलुकको ऐतिहासिकताको स्थान भने खुम्चँदै गएको छ । नेपालको विद्यालय शिक्षा अहिले यस्तो दोसाँधमा छ, न त विदेशीस्तरको पढाइ हुन्छ न आफ्नो हावापानी सुहाउँदो । निजी बोर्डिङ स्कुलले आफ्नो स्कुलको नाम अंग्रेजीमा राखेझैं हामी हाम्रा बालबालिकालाई ठिमाहा शिक्षा दिन विवश छौं । हाम्रा नानीबाबुले स्कुलमा पढेको शिक्षाबाट धेरै ठूलो अपेक्षा नगरौं, राम्ररी चिया पकाउन पनि सिकाउँदैन ।

सरकारले अहिले जसरी आर्थिक समृद्धिको मुद्दालाई महŒवको साथ उठाएको छ, वास्तवमै मुलुकलाई आर्थिक रूपमा समृद्ध गराउने हो भने सबैभन्दा पहिला शिक्षामा आमूल परिवर्तन जरुरी छ । सानो उदाहरण नै काफी छ । सोलुखुम्बुमा जन्मेको एउटा राईको छोरा र बाजुरामा जन्मेको अर्को ओलीको छोरीले एउटै पुस्तक पढेर परीक्षा दिनुपर्छ । ओखलढुंगा र बाजुराको जीवनशैली कति फरक छ ? थप व्याख्या गरिरहन जरुरी छैन । अब हरेक तहले प्राथमिक तहमा पाठ्यक्रम निर्माण गर्नैपर्छ । कुनै पनि बालबालिकाले त्यतिबेला सहजै सिक्छन्, जब उनीहरूले आफ्नै वरपर देखिएका रहनसहन र संस्कृतिबारे आफ्नो पुस्तकमा उल्लेख भएको पाउँछन् । अहिले भक्तपुर नगरले बनाएको पाठ्यक्रममा भक्तपुरको इतिहास, स्थानीय सिप, खेल, प्रविधिलगायत समेटिएको छ । यसको अर्थ यो पाठ्यक्रम अध्ययन गरेपछि भक्तपुरमा पढेका बालबालिकाले भक्तपुरकै बारेमा जानकारी लिनका लागि अरू धेरै मेहनत गर्नुपर्दैन । साथै भक्तपुरको पहिचान तत्कालै मेटिँदैन पनि । हरेक स्थानीय तहका बालबालिकाले आफ्नो स्थानको पहिचान बिर्सिएनन् भने मात्रै पनि हामीले आगामी दिनमा हाम्रो संस्कृति ध्वस्त भयो, बचाऊ भनेर अपिल गरिरहनु पर्दैन ।

भक्तपुर नगरले अहिले जसरी पाठ्यक्रम निर्माण ग¥यो, अन्य स्थानीय तहले पनि यो शैलीको सिको गर्न आनाकानी गर्नुहुन्न । तराईकै कुरा गर्ने हो भने पनि झापा बिर्तामोडको रहनसहन र जनकपुरको संस्कृति फरक छ । हरेक बालबालिकालाई आफ्नो गाउँ ठाउँको संस्कृतिबारे भ्रम पैदा नहुने गरी जानकारी दिनु राज्यको पहिलो कर्तव्य हो । त्यो कर्तव्य अब स्थानीय तहले पूरा गर्नुपर्छ । हाम्रा विद्यालयले बालबालिकालाई व्यावहारिक शिक्षा दिन चुकेकै कारण आज कतिपय बालबालिकालाई चामल कहाँबाट आउँछ भनेर प्रश्न गर्दा पसलबाट भन्ने जवाफ दिन्छन् । जमिनमा धान उम्रन्छ, धान कुटेपछि मात्रै चामल बन्छ भन्ने सामान्य ज्ञान सिकाउने संस्कार भएको भए पक्कै ती बालबालिकाबाट यस्तो जवाफ आउने थिएन । हाम्रा हरेक भूभागमा हरेक खालको संस्कृति भए पनि कतिपय संस्कृति लोप हुने अवस्थामा छन् । ती संस्कृतिलाई लोप हुनबाट बचाउनका लागि पनि स्थानीय तहमै पाठ्यक्रम निर्माणको पहल गरिनुपर्छ ।