परराष्ट्रमन्त्रीको चीन भ्रमण, पुराना सम्झौता कार्यान्वयनमा केन्द्रित, उच्चस्तरीय भ्रमण तयारी

रामसूदन तिमल्सिना / काठमाडौं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयनसहित अन्तरदेशीय ट्रान्समिसन लाइनको विस्तार, रेलमार्ग, जलमार्ग, सडकमार्ग र ऊर्जामा सहयोग विस्तारको मुख्य एजेन्डा बनाएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा ६ दिने औपचारिक चीन भ्रमणमा निस्केका छन् । सन् २०१६ मा प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले गरेको चीनसँग गरेको व्यापार तथा पारवहान सन्धिको कार्यान्वयनको विषयलाई ज्ञवालीले प्रमुख एजेन्डामा रूपमा राखेका छन् ।

चीन प्रस्थान गर्नुअघि उनले आफ्नो भ्रमणको एजेन्डाको विषयमा जानकारी गराउँदै भने, ‘यसअघि भएको सहमति, सहयोग र सम्झौताको कार्यान्वनयको विषयमा छलफल हुनेछ ।२०१६ मा भएको व्यापार पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर गर्ने विषयमा पनि छलफल हुनेछ ।’ नेपाल पक्षले प्रोटोकल मस्यौदा गरेर गत अगस्टमा चिनियाँ पक्षलाई बुझाइसकेको र चिनियाँ पक्षले त्यसको अध्ययन गरिरहेको ज्ञवालीले बताए ।
बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत नेपालमा लगानी मोडालिटीको विषयमा पनि छलफल हुने ज्ञवालीले बताए । अघिल्लो सरकारले बीआरआईमा हस्ताक्षर गरिसकेको छ । ‘मैले सरोकार मन्त्रालयका सचिवहरूसँग परियोजना छनोटको विषयमा छलफल गरें । भ्रमणमा सो परियोजनामा नेपालमा लगानीको मोडालिटिको छलफल हुनेछ,’ उनले भने ।

प्राथमिकतामा तातोपानी नाका

परराष्ट्रमन्त्री ज्ञवालीले तातोपानी नाका खोल्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्ने बताए । ‘यो दुई देशको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको नाका हो । त्यसैगरी, अरनिको राजमार्गका नागरिकको भविष्यसँग पनि जोडिएको छ,’ उनले भने, ‘यसअघि चीनले अध्ययन गरिरहेको छ भूकम्पले पहाड खलबलिएको कारण स्थायी संरचनाको अध्ययन भइरहेको छ, भविष्यमा यसको प्रगति हुनेमा आशावादी छु ।’ उनले केरुङ र कोरला नाका खुलाउने विषयलाई पनि भ्रमणमा छलफलको विषय बनाएको बताए । चिलिमे रसुवागढी केरुङ र कोराला अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल हुने भएको छ । उनको भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका रूपमा समेत लिइएको छ । उनले भने, ‘२०१८ लाई हामीले उच्चस्तरीय भ्रमण वर्षका रूपमा लिएका छौं । त्यसैले, प्रधानमन्त्रीको भ्रमणको विषयमा छलफल हुन्छ । त्यसैगरी, चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको विषयमा पनि छलफल हुनेछ ।’

नेपालले स्थानीय, प्रदेश र संघ गरी तीन तहको निर्वाचन गरी शक्तिशाली सरकार गठन भएपछि हुन लागेको आफ्नो भ्रमणलाई ज्ञवालीले नयाँ सरकारको नयाँ विदेश नीतिको विषयमा जानकारी गराउने ऐतिहासिक समय भएको बताए । ‘छिमेकीसँग आपसी विश्वास, समानता, सम्मान तथा पारस्परिक लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध कायम गर्ने दिशामा भ्रमण केन्द्रित हुनेछ,’ उनले भने । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा निस्केका ज्ञवालीलले बेइजिङमा उच्च राजनीतिक नेतृत्वसँग भेट्ने कार्यक्रमसमेत तय भएको छ । त्यसैगरी चीनका विदेशमन्त्री यीसँग छलफल गरी पछि संयुक्त पत्रकार सम्मेलनसमेत हुनेछ । ज्ञवालीले चिनियाँ थिङ ट्याक्सको राउड टेबललाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ । त्यसैगरी उनले सिचुवान प्रान्तको चेङडुको भ्रमण गर्नेछन् । उनी शनिबार स्वदेश फर्केने कार्यक्रम छ ।
‘बूढीगण्डकीमा नेगोसेसन हुँदैन’परराष्ट्रमन्त्री ज्ञवालीले बुढीगण्डकी जलविद्युत् आयोजनाको विषयमा छलफल नहुने बताएका छन् । उनले शेरबहादुर देउवा सरकारले गरेको निर्णयको अध्ययन भइरहेकाले बूढीगण्डकीको विषय एजेन्डामा नरहेको बताए । ‘बूढीगण्डकी छलफलको एजेन्डा छैन । पूर्ववर्ती सरकारले गरको निर्णयहरू अध्ययन हँुदै छ,’ उनले भने ।