एमाले–माओवादी एकता टुट्यो संवादहीनता, आज एकता संयोजन समिति बैठक

सविन शर्मा / काठमाडौं

एकीकरण घोषणाको अन्तिम तयारीमा जुटेका सत्तारूढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केहीदिन यता देखिएको संवादहीनता टुटेलगत्तै एकता प्रक्रियाले गति लिएको छ । दुई अध्यक्षबीच सोमबार भएको बार्तापछि एकता संयोजन समितिको बैठक बस्ने तयसमेत भएको छ ।

अध्यक्ष तहबाट टुंगिनुपर्ने विषय थाँती रहँदा लामो सयमदेखि संयोजन समिति बैठक बस्न सकेको थिएन । वार्तालगत्तै एमाले स्थायी कमिटी बैठकले पनि तोकिएको मितिमा नै एकीकरण घोषणाका लागि प्रस्ताव गर्ने भएको छ ।

एकीकरणका सम्बन्धमा संवाद नहुँदा ९ वैशाखका लागि तय गरिएको एकता घोषणाबारे संशय उत्पन्न भएको थियो । ओली–दाहाल वार्तापछि एकीकरणले नयाँ मोड लिएको छ । वान टु वान वार्ताका सन्दर्भमा भएका सहमतिबारे केही नखुलाइए पनि माओवादी अध्यक्ष दाहालले आफ्नो पूरै ध्यान एकीकरणमा केन्द्रित भएको खुलाएका छन् ।

 सोमबारै राजधानीमा भएको एउटा कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्रीसँग करिब दुई घन्टा मेरो कुराकानी भएको छ । भोलि(मंगलबार) बिहान नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकले एकतालाई अघि बढाउन ठोस निर्णय लिनेछ । एकता अघि बढाउने दायित्व पूरा गर्न हामी दुई जना नै केन्द्रित छौं ।’ एकता टुंगोमा पु¥याउनका लागि माओवादी केन्द्रभित्र पनि छलफल जारी रहेको उनले खुलाए ।

अध्यक्ष दाहालमाथि पार्टीभित्रबाट एमालेसँगको एकता बराबरीको आधारमा गर्न दबाब परेको छ । पार्टीका युवा विभाग प्रमुख मणि थापा र योङ कम्युनिस्ट लिग (वाईसीएल) अध्यक्ष दिपशिखाले आइतबार दाहाललाई भेटी बराबरीको हैसियतमा मात्रै एकता गर्न सुझाव दिएका थिए ।

९ वैशाख (२२ अप्रिल) कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर एकता गर्ने निर्णय लिएका दुवै दलको नेतृत्वले त्यसका लागि आआफ्ना पार्टीभित्रको तयारीलाई अन्तिम रूप दिने सहमति गरेका हुन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको भारत भ्रमणपछि पार्टी एकतालाई निष्कर्षमा पु¥याउने निर्णय भए पनि एकतालाई अन्तिम रूप दिने विषयमा औपचारिक छलफल हुन सकेको थिएन । गत बुधबार नै संयोजन समितिको बैठक बस्ने र एकतालाई अन्तिम रूप दिने सहमति जुटे पनि प्रक्रिया एक साता पछाडि धकेलियो ।

आइतबार साँझ परिवारसहित दाहाल सुकुटे गएपछि ओलीसँगको वान टु वान वार्ता भोलिपल्ट मात्र भयो । प्रधानमन्त्री ओलीले फोन गरेर प्रचण्डलाई बोलाएका थिए । केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने संख्या, चुनाव चिह्न र विधानको प्रस्तावनाका विषयमा ओली–दाहाल वार्ता केन्द्रित भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । एकीकृत पार्टीको विधानमा जनयुद्ध शब्द राखेर जानुपर्ने माओवादी अडानलाई एमालेले मानेको छैन ।यद्यपि, एमालेभित्र मुलुकले १० वर्ष भोगेको राजनीतिक घटनाक्रमलाई समेट्न सकिने धारणाहरू पनि आएका छन् । यस्तै, संगठनमा ५०÷५० प्रतिशतको हिस्सा माओवादीको माग छ । तर चुनावी परिणामअनुसार सांगठनिक प्रतिनिधित्वको पक्षमा एमालेको अडान छ । चुनाव चिह्न पनि दुवै दलले आआफ्नै हुनुपर्ने अडान लिइरहेका छन् ।

‘आज(सोमबार) बिहान भएको वार्तामा सहमति जुट्न नसकेका विषयहरूमा कुनै ठोस निर्णय भएको छैन,’ दाहालले भने, ‘सहमति जुट्न बाँकी भएको सबै विषयमा एकसरो छलफल भयो ।’ २९९ सदस्यीय केन्द्रीय कमिटीमा एमाले र माओवादीबाट कति कति जना समेट्ने भन्ने विषय संयोजन समितिले टुंगो लगाउँदै ९ वैशाखमै एकीकरण घोषणाको तयारी भएको बालुवाटार स्रोतले जनायो । निर्वाचन परिणामअनुसार ७०÷३० को अनुपातमा केन्द्रीय कमिटी सदस्यको प्रतिनिधित्व हुनुपर्ने एमालेको अडानपछि माओवादीभित्रबाट अध्यक्ष दाहाललाई दबाब थियो ।
यस्तै नेतृत्व सञ्चालन कार्यविधिका विषयमा पनि कुनै सहमति नभएको भन्दै विवाद थियो । ओली र दाहाल दुवै जना एकीकृत पार्टीको अध्यक्ष हुने भनिए पनि दुवै कार्यकारी कि एउटा सेरेमोनियल हुने भन्ने विषयले समस्या उत्पन्न गराएको छ ।
एकता संयोजन समितिअन्तर्गतको कार्यदलले भने दुवै अध्यक्षको समान हैसियत रहने र दुवैले अध्यक्षता गर्ने सुझावसहितको प्रस्ताव तयार पारेको छ । प्रस्तावमा पालोपालो अध्यक्षता गर्ने र अध्यक्षता गर्ने नै तत्कालीन समयका लागि वरिष्ठ हुने उल्लेख छ ।

एकता ९ वैशाखमै  : एमाले

काठमाडौं / रास  नेकपा एमालेले माओवादी केन्द्रसँगको एकता घोषणा ९ वैशाखमै गर्ने गरी एकता संयोजन समितिमा प्रस्ताव लाने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा एकतालाई पछि धकेल्न नहुने सुझाव नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।

एकता प्रक्रियाका विषयमा असमझदारी बढ्न थालेको हल्ला चलेपछि एमालेले आज (मंगलबार) हुने संयोजन समितिको बैठकमा तोकिएकै मितिमा एकता घोषणाको प्रस्ताव लिएर जाने भएको छ ।

एमालेले बराबरीभन्दा पनि चुनावमा गरिएको भाबन्डाको मोडेलमा एकता हुन सक्ने जनाएको छ । माओवादीले ५० प्रतिशतको हिस्सेदारी चाहिने दाबी गरेका बेला एमालेले ६०÷४० को भागबन्डामा सहमति हुन सक्ने जनाएको छ । बैठकमा अधिकतम लचकता ६०÷४० मा हुन सक्ने नेताहरूको ठम्याइ छ ।

‘एकता नभाँडिने र सहमति बन्ने बिन्दुमा पुग्नका लागि सल्लाह भएको छ । भागबन्डाको कुरामा पनि सहमतिको बिन्दु खोजिनेछ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘तर एकता घोषणा मिति नसारौं भन्ने सबैको जोड हो ।’