सुरक्षित मातृत्व अभियान घोषणा

राजधानी समाचारदाता / काठमाडौं

मुलुकभरका सरकारी अस्पतालमा ‘सुरक्षित मातृत्व २०७५ अभियान’ घोषणा गरिएको छ ।स्तन, पाठेघर मुख तथा फिस्टुला क्यान्सर पत्ता लगाउन निःशुल्क जाँच व्यवस्थासहित सरकारले अभियान घोषणा गरेको हो ।

सुरक्षित मातृत्व दिवस २०७५ को अवसरमा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारले चार चरणमा वर्षभर अभियान सञ्चालन र यसलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताइन् ।

अभियानअन्तर्गत चालू वर्ष वैशाखदेखि असारसम्म किशोरी, युवती तथा महिलाको निःशुल्क क्यान्सर स्वास्थ्य जाँच, साउनदेखि असोजसम्म सबै स्थानीय निकायमा सुरक्षित मातृत्व कोष स्थापना, कात्तिकदेखि पुससम्म किशोरकिशोरीको अवस्थादेखि नै सुरक्षित मातृत्वबारे जानकारी दिन विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ । माघ–फागुनमा सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राका लागि महिनावारी हुँदाको अवस्थामा सरसफाइदेखि प्याड वितरणसम्मका कार्य गरिने मन्त्रालयले जनाएको छ ।

‘सुरक्षित मातृत्व अभियान सफल पार्न यस विषयमा जनचेतना जगाउनु आवश्यक भएकाले मन्त्रालय यसबारे सचेत छ,’ अर्यालले भनिन् । नेपालको संविधान २०७२ मा सुरक्षित मातृत्वसम्बन्धी हक मौलिक कहको रूपमा रहेकाले यसलाई व्यवहारमै लगिने प्रतिबद्धता पनि उनले जनाइन् ।

मन्त्री अर्यालका अनुसार स्थानीय तह अर्थात् हरेक गाउँ वा नगरपालिकामा सुरक्षित मातृत्व कोष स्थापना गरी महिलालाई सुरक्षित बनाइनेछ । ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ खडा गरी यसलाई देशव्यापी बनाइनेछ राज्यमन्त्री अर्यालले भनिन् । आकस्मिक सुत्केरीलाई सहयोग गरी प्रसव वेदनामा छटपटिएकी आमा र नवजात शिशुलाई बचाउनु कोषको उद्देश्य हुने बताइएको छ ।

कार्यक्रममा राज्यमन्त्री अर्यालले त्रिविवि शिक्षण अस्पतालमा भर्ना भएका पाँच सुत्केरी विमला थापा, कौशिला दनुवार, अनिता श्रेष्ठ, कल्पना न्यौपाने र जानकी पौडेललाई सम्मान गरेकी थिइन् ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा प्रति १ लाख महिला सुत्केरी हुँदा २३९ जनाको सुत्केरी अवस्थामै मृत्यु हुने गरेको छ । राज्यमन्त्री अर्यालले यो संख्यालाई सन् २०३० सम्म ७० मा झार्ने दाबी गरिन् । अझै कुल गर्भवतीमध्ये करिब ४० प्रतिशत महिला स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने गरेका छन् ।