युवा संघ केन्द्रीय कमिटी बैठक सुरु

राजधानी समाचारदाता / काठमाडौं

आन्तरिक विवादका कारण लामो समय निक्रिय एमाले भ्रातृ संगठन युवा संघ नेपालका केन्द्रीय कमिटी बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्रसँग एकताको अन्तिम गृहकार्य भइरहेका बेला संघले सक्रियता देखाएको हो । एमालेले एकता प्रक्रिया नटुंगिएसम्म पार्टी तथा भ्रातृ संस्थाको महाधिवेशनलगायतका महŒवपूर्ण गतिविधिमा रोक लगाए पनि युवासंघ बैठकमा भने आगामी महाधिवेशनबारे छलफल सुरु भएको छ ।

महाधिवेशन मितिलगायतका विषयमा छलफल केन्द्रीय कमिटीको पूर्ण बैठक सोमबारबाट सुरु भएको हो । जसमा आगामी महाधिवेशन, रिक्त पदाधिकारी मनोनयनलगायतका विषयमा छलफल हुने संघका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए ।

संघ अध्यक्ष राजीव पहारी प्रदेश

४ को प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि नेतृत्व हस्तान्तरणबारे बैठकमा छलफल हुन लागेको हो । बैठक उद्घाटन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं संघ इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनको घोषणापत्रबमोजिम विकास र समृद्धि यात्रामा संघ सहयोगी बन्न युवा कार्यकर्तालाई आह्वान गरेका छन् ।

अध्यक्ष पहारीले एमाले र नेकपा माओवादी केन्द्रसँगको एकतापछि संघ र योङ कम्युनिस्ट लिगबीचको एकताका लागि तयार रहन आग्रह गरे । बैठक आज मंगलबारसम्म चल्ने बताइएको छ ।