प्रजिअ कार्कीले लिए अभिभावकत्व

राजधानी संवाददाता / उदयपुर

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आइतबार एक बालकको अभिभावकत्व ग्रहण गरेका छन् । त्रियुगा नगरपालिका–१० बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयमा ६ वर्षीय रोहन विश्वकर्मालाई विद्यालय भर्ना गराएर प्रजिअले अभिभावकत्व ग्रहण गरेका हुन् ।गरिब तथा विपन्न परिवारका भएकाले उनी विद्यालय जाने उमेर पुगे पनि विद्यालय जान सकेका थिएनन् । विद्यालयभन्दा बाहिर रहेकाले नै उनलाई प्रजिअ कार्कीले विद्यालयसम्म ल्याएर भर्ना गरेका हुन् ।  राष्ट्रिय भर्ना अभियान, २०७५ को शुभारम्भ गर्दै उनले बेरोजगारी समस्या समाधान गर्न गुणस्तरीय शिक्षा अपरिहार्य भएकामा जोड दिए । सो अभियानको शुभारम्भ गर्दै उनले विद्यालयमा भर्ना हुन आएका विद्यार्थीहरूलाई पाठ्यपुस्तक तथा शैक्षिक सामग्री वितरण गर्दै शिक्षाको गुणस्तर सुधार गर्न आफू लागि पर्ने बताए ।

उनले आफूले अभिभावकत्व दिएको बालकलाई आवश्यक पर्ने एक वर्षको पोसाक तथा शैक्षिक सामग्री व्यक्तिगत रूपमा उपलब्ध गराउने प्रतिबद्धता दिएका थिए । सो कार्यक्रममा शिक्षा विकास समन्वय एकाई उदयपुरका उपसचिव रामेश्वर कुँवरले दुई बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।उनले आठ वर्षीय विपीन नेपाली र ६ वर्षीय सुरज नेपालीलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका हुन् । गुणस्तरीय शिक्षाका माध्यमबाट उत्पादित जनशक्तिले जीविकोपार्जन गर्न सक्ने अवस्था सिर्जना हुनुपर्ने उनले बताए । आफू संरक्षक भएको दुई बालबालिकाको एक वर्षमा लाग्ने विद्यालय पोसाक तथा शैक्षिक सामग्री व्यक्तिगत रूपमा उपलब्ध गराउने जानकारी दिए ।
त्यसैगरी, त्रियुगा नगरपालिकाका–१० का वडाध्यक्ष प्रकाशकुमार खड्काले ६ वर्षीय दावा शेर्पालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । गरिब तथा विपन्न वर्गका कम्तीमा २० बालबालिकालाई वडा कार्यालयले शैक्षिक सामग्री तथा पोसाक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने मूल नारा रहेकोमा त्यसलाई सार्थक बनाउन शिक्षक कर्मचारी सबैले अनिवार्य रूपमा आफ्ना नानीहरूलाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरे ।

वडाध्यक्ष खड्काले बालमन्दिर माविको भौतिक संरचना निर्माण गर्न जग्गा स्वामित्वमा केही समस्य आउने गरेकाले त्यसलाई सदाका लागि निराकरण हुनुपर्नेमा जोड दिए । उनले भौतिक संरचना निर्माण गर्न समस्या नहुने हो भने यहाँ प्राविधिक जनशक्ति उत्पादन गर्ने विद्यालय निर्माण गर्न आफू लागिपरेको स्पष्ट पारे । त्रियुगा नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न लागेको जानकारी दिए । उनले भर्ना अभियान सम्पन्न पार्न सबैको सहकार्य आवश्यक हुने बताए । त्यसैगरी, स्रोतव्यक्ति कुमार कार्कीले एक बालकलाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् । जिल्ला युवा समिति उदयपुरकी पम्फा घलेले चार वर्षीया सिवानी चाम्लिङलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेकी छन् ।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक जंगबहादुर खड्काले ६ वर्षीया पुनम राईलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका थिए । कार्यक्रममा पत्रकार ईश्वर तामाङले पाँच वर्षीया समृद्धि राईलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका थिए भने उनीहरूलाई एक वर्षसम्ममा लाग्ने विद्यालय पोसाक तथा शैक्षिक सामग्रीहरू अभिभावकत्व ग्रहण गर्नेले व्यक्तिगत रूपमा उपलब्ध गराउने प्रतिबद्धता दिलाएका थिए ।