छिटोभन्दा छिटो सिरिया छाड्न चाहन्छ अमेरिका

वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिटोभन्दा छिटो अमेरिकी सैनिक सिरियाबाट बाहिर निकाल्न चाहेको खुलासा भएको छ । शनिबार मात्रै सिरियामाथि हमला गरेको अमेरिकाले आफ्ना सैनिक सम्भव भएसम्म छिटो फिर्ता लैजान चाहेको हो ।

यसअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले एक अन्तर्वार्ताका क्रममा ट्रम्पलाई सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न सहमत गराएको बताएका थिए ।

तर ह्वाइटहाउसकी प्रवक्ता सारा स्यान्डर्सले अमेरिकी सैनिक छिटोभन्दा छिटो बाहिर निकाल्ने बताएकी हुन् । उनले सिरिया मिसनमा अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनिस्पष्ट पारिन् ।

यसै महिनाको सुरुमा राष्ट्रपति ट्रम्पले अमेरिकाले छिटोभन्दा छिटो अमेरिकी सेना सिरियाबाट फिर्ता बोलाउने बताएका थिए । तर, त्यसको विपरित अमेरिकाले बेलायत र फ्रान्ससँग मिलेर रासायनिक हमलाको जवाफ भन्दै सिरियामाथि हमला गरेको थियो ।

फ्रान्सका राष्ट्रपति म्याक्रोले अमेरिकालाई सिरियाका केही सैन्य अड्डामा मात्रै हमला गर्न सहमत गराएको पनि दाबी गरेका थिए । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले भने सिरियाबाट अमेरिकी सैनिक ६ महिनामा फिर्ता गर्ने ट्रम्पको योजना रहेको दाबी गरेकी छन् । उनले सिरियामा रासायनिक हतियार प्रयोग नहोस भन्ने सुनिश्चित गर्न अमेरिकाले चाहेको पनि बताएकी छन् । हेलीले अमेरिका सिरियामा आईएसलाई हराउन र इरानको प्रभाव रोक्नका लागि प्रतिबद्ध रहेको पनि बताएकी छन् ।