राजविराज विमानस्थल वैशाख अन्तिमदेखि सुचारु

एम के माझी / राजविराज

आन्तरिक उडान सेवा बन्द भएको १०वर्षपछि सप्तरीको विष्णुपुर गाउँपालिकास्थित राजविराज विमानस्थल पुुनः सञ्चालनमा आउने भएको छ ।  राजविराज विमानस्थलको कच्ची धावनमार्गका कारण विगत १० वर्षदेखि यहाँ हवाई सेवा सञ्चालन हुन सकेको थिएन ।       ३० करोड ३० लाख ७४ हजार ५२८ रुपैयाँको लागतमा सुरु गरिएको कुल १ हजार ५ सय मिटर लामो तथा ३० मिटर चौडा धावनमार्ग ग्राभेल र पिचिङ गर्ने काम सम्पन्न भएपछि विमान सेवा सञ्चालनको बाटो खुलेको हो ।

सञ्चालनमा ल्याउने तयारी गरिएको राजविराज विमानस्थल । तस्बिर : राजधानी

नेपाल नगारिक उड्डयन प्राधिकरणका परियोजना संयोजक रामएकवाल महतोका अनुसार विमानस्थलको धावनमार्ग, एप्रोन र ट्याक्सी वेलगायतका निर्माण कार्य सम्पन्न भई विमान सेवा पुनः सुचारु गर्ने सँघारमा पुगेको हो । अब नाला, टावर मर्मत, टर्मिनल भवन र धावनमार्गमा मार्किग गर्ने काम भइरहेको उनले बताए ।

विमान सेवा सुचारुका लागि नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र र उपकरण जडानका लागि निर्माण स्थलमा पुग्ने काम पनि सुरु भएको पनि उनले थपे । वैशाख अन्तिम सातादेखि सेवा सुचारु गर्ने योजना सहित धमाधम काम भइरहेको छ ।

केही दिनभित्रै परीक्षण उडान गरिने तयारी भइरहेको बताएका उनले हाल बुद्घएयरले हवाई सेवा सञ्चालनका लागि चासो देखाएको जानकारी गराउँदै बुद्घएरसँगै अन्य विमान कम्पनीसँग पनि नियमित हवाई सेवा सञ्चालनका लागि छलफल भइरहेको जनाए ।

उनले विमानस्थल आसपास भएका इँट्टा भट्टा र रूखले समस्या हुने भन्दै त्यसको उचित व्यवस्थापनका लागिसमेत पहल थालिएको जानकारी दिए । राजविराजबाट तीन किलोमिटरको दूरीमा रहेको राजविराज विमानस्थलको २०१६ सालमा तत्कालीन उद्योगमन्त्री गणेशमान सिंहद्वारा शिलान्यास गरिएको थियो ।

त्यसपछि पटकपटक विमान सेवा सञ्चालनमा आए पनि धावनमार्ग पक्की नहुँदा सेवा बन्द हुँदै आएको छ । पछिल्लोपटक २०४६ साल मसिर २ गतेदेखि यस विमानस्थलबाट हवाई सेवा पूर्ण रूपमा ठप्प छ । यता विमानस्थलको स्तरोन्नतिपछि विमान सेवा पुनः सुचारु हुने खवरले स्थानीयवासी र जग्गादाता पनि खुसी भएका छन् ।

नियमित जहाज सञ्चालनमा आए राजविराजदेखि काठमाडौंसम्म ४० मिनेटमै पुग्न सकिन्छ । विमानस्थलका लागि करोडौं मूल्य पर्ने आफ्नोे ४८ विघा जग्गा निःशुल्क दान गरेका स्थानीयवासी महामाया सिंहका अनुसार सप्तरीवासीको सपना साकार हुने बताए ।

लामो समयदेखि विमान सेवा सञ्चालन हुन नसक्दा जग्गा दान दिएकोमा पछुतो लागिरेहको थियो उनले भने,‘बल्ल खुसी लागेको छ ।’ राजविराजबाट विमान सेवा पुनः सुचारु भए जिल्लाको विकासमा समेत साकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।