ओरालोतर्फ कपास खेती

राजधानी समाचारदाता / काठमाडौं

व्यवसायिक रूपमा हुँदै आएको कपास खेती पछिल्लो समय उजाडको अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपास खेती उजाडको अवस्थामा रहेको देखिएको हो ।

 कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय व्यावसायिक कपासको उत्पादन घट्दै गएको छ । विगत तीन वर्षयता आर्थिक वर्ष २०७२÷०७३ मा कुल १६० मेट्रिक टन उत्पादन भएको कपास चालू आर्थिक वर्षमा १ सय मेट्रिक टनमा झरेको छ ।

गत आर्थिक वर्ष २०७३÷०७४ मा कपासको उत्पादन १३० मेट्रिक टन भएको थियो । तथ्यांक हेर्दा कपासको व्यावसायिक खेतीको उजाड हुनै लागेको विश्लेषण गर्न सकिने मन्त्रालयका अधिकारीले बताएका छन् ।

दुई दशकअघि ५ हजार हेक्टर क्षेत्रफल जमिनमा हु“दै आएको कपास खेती पछिल्लो समय साढे ५ सय हेक्टर क्षेत्रफलमा खुम्चिएको छ

त्यस्तै, कपास विकास समितिका अनुसार कपासको खेती हुने जमिनको क्षेत्रफल पनि घट्दै गएको छ । करिब दुई दशकअघि ५ हजार हेक्टर क्षेत्रफल जमिनमा हुँदै आएको कपास खेती पछिल्लो समय साढे ५ सय हेक्टर क्षेत्रफलमा मात्रै हुँदै आएको छ ।

समितिका निमित्त कार्यकारी प्रमुख विजयकुमार जोशीले दुई दशकअघि ३ हजार ६ सय मेट्रिक टन उत्पादन हुँदै आएको र त्यतिबेलाको ५ हजार हेक्टर क्षेत्रफलमा कपास खेती हुँदै आएको बताए । उनले नेपालमा सञ्चालनमा रहेका धागो कारखाना तथा कपडा उद्योग बन्द भएपछि व्यावसायिक रूपमा हुँदै आएको कपास खेती पनि उजाडको आवस्थामा पुगेको बताए ।

विगतमा कपास विकास समितिबाट बुटवल धागो कारखानाले कपासको रेसा खरिद गर्ने गरेकाले कपासको खेती टिकेको र बुटवल धागो कारखाना बन्द भएपछि कसैले त्यसको रेसा खरिद नगर्ने भएकाले कपासको खेती कमजोर बन्दै गएको उनको भनाइ थियो ।

‘विगतमा हामीले बुटवल धागो कारखानलाई कपासको रेसा विक्री गथ्र्यौ’ बुटवल धागो कारखानाले हेटांैडा कपडा उद्योगलाई बिक्री गथ्र्यो’ जोशीले राजधानी दैनिकसँग भने, ‘तर अहिले दुइवटै उद्योग बन्द छन्, समितिको रेसा कसैले पनि खरिद गर्दैनन् ।’

कपास विकास समितिले उत्पादन गर्दै आएको कपासको रेसा खरिद हुन छाडेपछि कपासको उत्पादन हुन पनि छोडेको उनको भनाइ थियो । मन्त्रालयका अनुसार व्यावसायिक रूपमा कपासको खेती दाङ, बर्दिया, बाँके, कैलाली र कन्चनपुर जिल्लामा हुँदै आएको छ । पाँचवटै जिल्लामा कुल साढे ५ सय हेक्टर क्षेत्रफलमा कपास खेती हुँदै आएको छ । पाँचवटै जिल्लामा गरी ४७० जना किसान कपास खेतीमा आबद्ध रहेका छन् ।

कपासको खेती गर्ने किसानहरूलाई मल, बिउलगायतका आवश्यक सामग्री सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको छ । कपासको उत्पादन गर्न पाँचदेखि ६ महिना लाग्ने र कपासको खेती लगाउने समयमा नै समितिले निश्चित मूल्यमा कपास खरिद गर्ने सम्झौता गरेर खरिद गर्ने गरिएको निमित्त कार्यकारी प्रमुख जोशीको भनाइ छ ।

किसानबाट खरिद गरेको कपास नेपालगन्जमा रहेको कपास प्रशोधन मसिनमा प्रशोधन गरी रेसा र बिउ छुट्याइन्छ । प्रतिसय केजी कपासबाट ३० देखि ३३ केजीसम्म रेसा र बाँकी बिउ उत्पादन हुने गरेको छ ।

पछिल्लो समय बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग बन्द भएपछि घरायसी प्रयोजनका लागि कपासको रेसा बिक्री हुने गरेको छ । कपास विकास समितिका अनुसार घरायसी प्रयोजनका लागि सिरक डसना बनाउनेहरूले कपासको खरिद गर्ने गरेका छन् ।

सरकारले बन्द अवस्थामा रहेका बुटवल धागो कारखाना र हेटौंडा उद्योग पुनः सञ्चालनमा ल्याउन सकेमा ती पाँच जिल्लासहित कतिपय अन्य जिल्लामा समेत कपासको खेती फस्टाउने जानकारहरूको भनाइ छ ।