ऊर्जामा त्रिदेशीय सहकार्य

काठमाडौं / रास– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि बंगलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

राजदूत साम्ससँगको भेटमा ऊर्जामन्त्री पुनले सरकार ऊर्जा क्षेत्रमा बंगलादेशसँग सहकार्य गर्न तयार रहेको धारणा राखे । मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल इच्छुक रहेको बताए ।

भेटमा ऊर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे । भेटमा राजदूत साम्सले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न बंगलादेश तयार रहेको भन्दै त्यसका लागि नेपालले आयोजना छनोट गरेर दिनुपर्ने बताए ।

बंगलादेशी राजदूतले सन् २०२१ सम्म बंगलादेशलाई १३ हजार मेगावाट बिजुली आवश्यक रहेको भन्दै नेपालका लागि बंगलादेश वैकल्पिक बजार हुन सक्ने सम्भावना रहेको बताए ।