नयाँ वर्षमा दोब्बर पर्यटक

चितवन / रासस– नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यसपटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । ‘नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुनेछ,’ क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भने ।

उनका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पलाएको छ । गत वर्ष करिब १० हजार पर्यटक भित्रिएका र होटलमै बास बस्ने पर्यटक अनुमानित ६ हजार रहेको घिमिरेले बताए । ‘विगतमा व्यवसायी चुके, अब प्रवद्र्धनमा तात्नुपर्छ,’ उनले भने ।

नयाँ वर्षमा सौराहाका होटलमा पर्यटक खचाखच भरिएका छन् । यसपालि सौराहालाई पर्यटक धान्नै मुस्किल भयो । राति कोठा नपाएर फर्कने पर्यटक थुप्रै थिए । एउटै कोठामा म्याट थपेर पनि पर्यटक सुताउनुपरेको अनुभव सुनाउँछन्, होटल पार्क साइडका सञ्चालक शीरलाल परियार । नयाँ वर्ष सुरु हुनु तीन दिन अघिदेखि नै सौराहामा पर्यटक भरिएका थिए । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहा हो । विगतमा यहाँ करिब १ लाख ५० हजार पर्यटक आउँथे ।

यस वर्ष १ लाख ८० हजार पर्यटक भिœयाउने लक्ष्य रहेको र यसका लागि व्यवसायी पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने घिमिरेको भनाइ छ । शान्ति, सुव्यवस्था, स्थिरता र मुग्लिन सडकमा विगतभन्दा सास्ती कम भएकाले पनि विभिन्न जिल्लाबाट सौराहा घुम्न पर्यटक आउन थालेका छन् । यसपटक नयाँ वर्षमा विदेशी पर्यटक ३० प्रतिशत थिए । अरू सबै आन्तरिक पर्यटक भरिएका थिए ।

रेस्टुरा एन्ड बार एसोसिएसन नेपाल(रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी यसपटक विगतभन्दा बढी पर्यटक सौराहा भित्रिएकाले नयाँ वर्ष पर्यटन व्यवसायीका लागि सुखद हुने बताउँछन् । सौराहामा सुविधायुक्त होटल ११० वटा छन् । अन्य साना होटल पनि सञ्चालित छन् ।