काम नलाग्ने भग्नावशेष व्यवस्थापन गरिने

काठमाडौं÷रासस– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा २० फागुन २०७१  मा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई यतिखेर काठमाडौंमा ‘एभिएसन म्युजियम’का रूपमा राखिएको छ । त्यस्तै, कस्मिक एयरको ग्राउन्डेड विमान कैलालीको धनगढीमा ‘एयरक्राफ्ट म्युजियम’ का रूपमा सञ्चालित छ । प्रजातन्त्र स्थापनाको अभियानका क्रममा नेपाली कांग्रेसले अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान ४ फागुन २०७० मा अर्घाखाँचीमा दुर्घटना भयो ।

उक्त विमानको भग्नावशेषलाई पुनः विमानको स्वरूप दिएर हाल बीपी संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । नेपालको ६८ वर्ष लामो हवाई सेवाको इतिहासमा अहिलेसम्म ८४ वटा विमान दुर्घटना भएका छन् । त्यसमध्ये आन्तरिक उडान गर्ने विमान ४६ र हेलिकोप्टर ३१ वटा तथा अन्तर्राष्ट्रिय उडानका सात जहाज दुर्घटना भएका हुन् ।

हवाई क्षेत्रको विश्वव्यापी मान्यताअनुसार दुर्घटनामा परेका विमान व्यवस्थापनको सम्पूर्ण जिम्मा सम्बन्धित बिमा कम्पनीको हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक राजन पोखरेल बताउँछन् । सम्बन्धित बिमा कम्पनीले दुर्घटनामा परेको विमान कम्पनीलाई विमानको मूल्यांकन गरेर क्षतिपूर्ति तिर्छ ।

दुर्घटनामा परेको विमान सामान्य मर्मत गरी सञ्चालन हुने अवस्थामा भने सम्बन्धित विमान कम्पनीले लैजाने र अन्य अवस्थामा बिमा कम्पनीले नै जिम्मा लिने गरेका छन् । काम नलाग्ने पार्टपुर्जा कबाडीमा बेचिन्छ । दुर्घटनाका क्रममा अग्नि नियन्त्रणमा लिने वस्तु प्रयोग गरेका विमानका प्रायः कुनै पनि पार्टपूर्जा काम नलाग्ने यस क्षेत्रका विज्ञको भनाइ छ ।

कतिपय दुर्घटनामा परेका विमान भने सर्वसाधारणका हवाई सेवाका जिज्ञासा मेट्ने र घुम्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित भएका उदाहरण पनि छन् । विमानका कुनै काम लाग्ने पार्टपुर्जा र इन्जिन सम्बन्धित विमान कम्पनीले लैजानुपरे बिमा कम्पनीको स्वीकृति अनिवार्य लिनुपर्ने प्रावधान रहेको क्यानका पूर्वमहानिर्देशक राजेशराज दली बताउँछन् ।

२८ फागुन २०७४ मा त्रिभुवन विमानस्थल परिसरमा दुर्घटना भएको यूएस बंगाला विमानको भग्नावशेष यतिखेर दुर्घटनास्थलमै अलपत्र अवस्थामा छ । दुर्घटनाको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नबुझाएसम्म उक्त विमानको भग्नावशेष उठाउन नमिल्ने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरको भनाइ छ ।

तर, विमानस्थलको काम कारबाही अवरुद्ध हुने गरी भएको दुर्घटनाका सम्बन्धमा भने यो नियम लागू हुँदैन । समितिले अवस्था हेरेर निर्णय गर्न सक्छ । विश्वमा हालसम्म भएका दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना उडान र अवतरणका क्रममा भएको यस क्षेत्रमा विज्ञको भनाइ छ ।

त्यस्तै, लामो समयदेखि विभिन्न स्थानमा बिग्रिएर थन्किएका पुराना विमान पनि विमानस्थलले हालै व्यवस्थापन गरेको जनाएको छ । नेपालमा हाल हेलिकोप्टरसहित १८ वायु सेवा कम्पनीले सेवा प्रदान गरिरहेका छन् । अन्तर्राष्ट्रियतर्फ दुई स्वदेशीसहित ३० वायु सेवा कम्पनीले सेवा प्रदान गरिरहेको विमानस्थलले जनाएको छ ।

दुर्घटनाग्रस्त विमान पर्यटकीय गन्तव्य

विभिन्न समयमा दुर्घटनामा परेका विमानमा अधिकांश कबाडीमा बिक्री भएका छन् भने केही विमान पर्यटकका गन्तव्यसमेत बनेका छन् । दुर्घटनामा परेको टर्किस एयरको एयरबस–३३० लाई क्याप्टेन वेद उप्रेतीले एभिएसन म्युजियम बनाएका छन् ।

काठमाडौंको सिनामंगलमा राखिएको उक्त एयरबसको ककपिटभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट र फिस्टेल एयरको हेलिकोप्टर पनि राखिएको छ ।

धनगढीमा राखिएको कस्मिक एयरको विमान पनि हाल ‘एयरक्राफ्ट म्युजियम’ का रूपमा सञ्चालित छ । सर्वसाधारण ती म्युजियममा शुल्क तिरेर घुम्न जाने गरेका छन् । २८ जेठ २०३० मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौं आउँदै गरेको तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरिएको थियो ।

नेपाली राजनीतिक क्रान्तिका अग्रणी व्यक्ति बीपी कोइरालासहितका नेताहरूले लामो समय जेल जीवन बिताएको सुन्दरीजलस्थित बीपी संग्र्रहालयमा जहाज राखिएको छ । संग्रहालय पनि ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । दुर्घटनामा परेका तथा काम नलाग्ने भएका यस्ता विमानलाई स्याहार्ने र अवलोकनका लागि राख्ने प्रयास प्रशंसनीय छ ।