अन्योलग्रस्त अवस्थामा नमुना अटोभिलेज

श्यामशंकर पाण्डे / भैरहवा

भैरहवामा नमुनाका रूपमा विकास गर्ने गरी चार वर्षअघि निर्माण प्रक्रिया सुरु गरिएको अटोभिलेजको काम अन्योलमा परेको छ । नगरपालिकासँग सम्झौता भई अगाडि बढेको सिनपा–९ को अटोभिलेज निर्माणमा हाल विद्युत् समस्या देखिएको छ ।

विद्युत् अभाव देखाउँदै उक्त स्थानमा काम अलपत्र परेको छ भने केही व्यवसायी समानान्तर रूपमा लुम्बिनी रोडमा अटोभिलेज निर्माणमा जुटेका छन् । छरिएर रहेका अटो व्यवसायीलाई एउटै ठाउँमा व्यवस्थित गर्न नगरपालिकास“ग जग्गा नभएपछि व्यवसायीहरूले आफैं जग्गा किन्ने र नगरपालिकाले खानेपानी, विद्युत्, सडक, ढल व्यवस्थापनलगायत गरिदिने सम्झौतामा छ ।

अटोभिलेजका लागि प्रस्ताव गरिएको जग्गा । तस्बिर : राजधानी

बजार क्षेत्रमा छरिएर रहेका अटो व्यवसायलाई व्यवस्थित गरी बजारलाई प्रदूषण मुक्त गर्न भन्दै नगरपालिकाले १ वर्षमा सम्पन्न गर्ने गरी उक्त सम्झौता गरेको थियो । तर, विद्युत् कार्यालय र नगरपालिकाको समन्वयनमा कमी रहँदा अटोभिलेजमा विद्युत् जडान गर्ने काम प्राथमिकतामा पर्न सकेको छैन । विद्युत् प्रवाह गर्ने काम विद्युत्प्राधिकरणको भएकाले अन्य पूर्वाधारहरू भने तयार भइसकेको सिद्धार्थनगर नगरपालिका प्रमुख हरि अधिकारीले बताए । सुरुमै सम्झौता गर्दा त्रुटि भयो,’ नगरपालिका प्रमुखले भने, ‘जग्गा व्यवस्थापन गरेर अटोभिलेजको काम गरेको भए उतिबेलै सम्पन्न हुन्थ्यो ।’ यता, विद्युत् कार्यालयले भने अटोभिलेजलाई कुनै बजेट नभएकाले ट्रान्सफर्मर जडान गर्न नसकेको जनाएको छ ।

ट्रान्सफर्मरका लागि नागरिक स्तरबाट माग र सरकारबाट बजेटसमेत नआएको कार्यालयको दाबी छ । ‘हामीलाई ट्रान्सफर्मरका लागि कुनै माग पनि आएको छैन,’ विद्युत् प्राधिकरण भैरहवा वितरण शाखा प्रमुख उमेशकुमार झाले भने, ‘बजेट पनि नभएकाले तत्काल ट्रान्सफर्मर जडान गर्न सक्दैनौं ।’ यता, व्यवसायीहरूले भने लामो समयसम्म अटोभिलेज निर्माण नहुँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् । अटो मेकानिक्स टे«ड युनियन भैरहवाका अध्यक्ष गुमानसिंह सारु मगरले ऋण लिई जग्गा किनेका श्रमिक व्यवसायी ४ वर्ष बितिसक्दा पनि काम सञ्चालन नहुँदा ऋण तिर्न नसकेर अप्ठ्यारोमा परेको दुखेसो पोखे ।

उनले भने, ‘काम सम्पन्न नहुँदा एकातिर व्यवसायीहरू अटोभिलेजमा सर्न पाएका छैनन् भने अर्कोतिर जग्गा व्यवस्थापन र पूर्वाधारका लागि लिएको ऋण तिर्न समस्या परेको छ ।’ व्यवसायीहरूका अनुसार नगरपालिकामा जा“दा बिजुलीको काम विद्युत् कार्यालयको हो भन्छ । विद्युत्मा जा“दा तपाईंहरूस“ग हाम्रो सम्झौता नै छैन नगरपालिकालाई भन्नुस् भन्दै काम अल्झाउदै आएका छन् । भैरहवाको गुनैहियामा १० बिघा क्षेत्रफलमा रहेको अटोभिलेजमा साना तथा ठूला गाडीको विभिन्न ह्याभी इक्युपमेन्टका पार्टपुर्जा किनबेच र मर्मत सम्भारको काम हुनेछ । अटोभिलेज निर्माण भएपछि बजार स्वच्छ हुने मात्र होइन, आफ्नो व्यवसाय पनि अहिलेभन्दा धेरै बढ्ने व्यवसायीहरूको अपेक्षा छ । एकै स्थानमा अटोभिलेज व्यवसाय हुँदा उपभोक्तालार्ई पनि गाडीको सामान किन्न छुट्टाछुट्टै स्थान धाउनुपर्ने समस्या हुनेछैन ।

अटोभिलेज सुरु हुँदैदेखि ठूला व्यवसायीहरू त्यसको विरोधमा देखिएका थिए । बुटवल भैरहवाको व्यापारिक सडक मार्ग विस्तार गर्ने क्रममा सडकछेउमा रहेका ठूला व्यवसायीहरूले अटाभिलेज सञ्चालनमा पहल गर्नुको सट्टा अस्थायी रूपमा लुम्बिनी रोडमा व्यवसाय सारेका थिए । अहिले पनि केही व्यवसायी त्यही नै अटोभिलेज बनाउनुपर्ने पक्षमा जोडतोडसाथ लागेका छन् ।