त्रिपुरालाई बीडीसिए क्रिकेट कप

सीपी लोहिया / बैतडी

बीडीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि त्रिपुरा क्रिकेट क्लबले हात पारेको छ । निंगलाशैनी खेल मैदान, देहीमाडौंमा भएको उपाधि भिडन्तमा जेएवाईसी थालिगाडालाई २७ रनले पराजित गर्दै त्रिपुराले १७औं संस्करणको बीडीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९२ रन बनाएको थियो । जसमा सञ्जय धामीले ५३ रनको अर्धशतकीय इनिंस खेले । तेज चन्दले ४८ रनको योगदान दिए । थालिगाडाका राम चन्दले ३ तथा जितेन्द्र रावलले २ विकेट हात पारे ।१९३ रनको विजयी लक्ष्यसाथ मैदान उत्रेको थालिगाडाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन मात्र जोड्न सक्यो ।

भरत चन्दले ३६ तथा जितेन्द्र रावलले २४ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । त्रिपुराका लागि तेज चन्दले २ विकेट हात पारे । उपाधिसँगै त्रिपुराले नगद ३० हजार, उपविजेता थालिगाडाले नगद २० हजार ट्रफी र प्रमाणपत्र पाएका छन् ।

त्रिपुराका तेज चन्द म्यान अफ द सिरिज घोषित हुँदै नगद ५ हजार हात पारे । उनले प्रतियोगिताभर सर्वाधिक २ सय रन तथा ५ विकेट हात पारेका थिए ।

यस्तै, प्रतियोगिताभरि उत्कृष्ट बलिङ गरेर १५ विकेट हात पारेका त्रिपुराका गणेश थापा उत्कृष्ट बलर चुनिए । थालिगाडाका राम चन्द उत्कृष्ट ब्याट्सम्यान घोषित भए । निंगलाशैनी क्रिकेट क्लब, देहीमाडौंका गजेन्द्र बोहरा उदीयमान खेलाडीका रूपमा सम्मानित भए ।