रेबिज सुई अभाव

भोजपुर / रास– जिल्ला अस्पताल भोजपुरमा रेबिज रोगविरुद्धको एन्टी–रेबिज भ्याक्सिनको अभाव भएको छ । दुई सातादेखि उक्त औषधि अभाव हुँदा सर्वसाधारण निजी औषधि पसलमा महँगो मूल्यमा औषधि किन्न बाध्य छन् । माग फाराम भरेर पठाए पनि हालसम्म औषधि आपूर्ति नभएको जिल्ला स्वास्थ्य भोजपुरका सूचना अधिकारी राजुकुमार श्रेष्ठले बताए । ‘जिल्लामा मासिक ५ देखि ६ जनालाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने अवस्था छ,’ सूचना अधिकारी श्रेष्ठले भने । जिल्ला अस्पताल भोजपुरमा मात्र रेबिजविरुद्धको खोप अभाव भएको नभई मुलुकभरमै समस्या भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. त्रिभुवनचन्द्र झाले स्वीकार गरे ।