मिटर ब्याज आतंकभागाभागदेखि आत्महत्यासम्म

ओपेन्द्र बस्नेत  / तुलसीपुर

चर्को मिटर ब्याजका कारण तुलसीपुरका धेरै व्यवसायीको उठीबास भएको खुल्न आएको छ । ऋण दिएबापत चर्को ब्याज असुल्नुलाई मिटर ब्याज भन्ने गरिन्छ, जुन गैरकानुनी कार्य हो । ऋण लगेबापत सय रूपैयाँको मासिक तीन रूपैयाँदेखि लाख रूपैयाँको दैनिक हजार रूपैयाँसम्म ब्याज तिर्ने गरेको रहस्य खुलेको छ । कतिपय व्यापारीहरू मिटर ब्याजकै कारण सात÷आठ वर्षको अन्तरालमा करोडपतिबाट रोडपति बन्न पुगेका स्रोतले बताएको छ । उनीहरूमध्ये कतिपयलाई एकातिर चर्को ब्याजको पीडा छ भने अर्कातिर मुद्दामामिलाको झमेलासमेत आइपरेको छ । यस किसिमको चर्को ब्याजकै परिणामस्वरूप आत्महत्यासम्मको परिस्थितिसमेत सिर्जना भएको छ ।

तुलसीपुरका एक व्यापारी श्याम केसीबाट लाख रूपैयाँको दैनिक हजार रूपैयाँका दरले १० लाखको मासिक ३ लाख रूपैयाँ ब्याज दिने गरी चार महिनाका लागि १२ लाख रूपैयाँ ब्याज मात्र दिने गरी अर्का व्यापारी चक्रबहादुर डाँगीले ऋण लगेको बताइएको छ । केसीले साँवाको चेक आफ्नो नाममा र ब्याज अर्कैको नाममा काट्न लगाउने गरेको डाँगीको भनाइ छ । तर, तोकिएको समयमा ब्याज बुझाउन नसकेपछि डाँगीले २५ लाख रूपैयाँ बुझाइसकेका छन् । उनीहरू दुवै ढुकुटी खेल्ने एउटै टिममा रहेको बताइएको छ । ‘मैले लामो समयसम्म नलिएको ढुकुटी श्यामले खिचिदिए, पसलमा सामान थप्न भनेर राखेको राखेको ढुकुटी केसीले खिचेपछि किन लगियो भनेर प्रश्न गरें,’ डाँगीले भने, ‘पैसा जति भए पनि म दिइहाल्छु भने ।’ त्यतिबेलादेखि नै आफ्नो व्यवसाय बिग्रिएको डाँगीले बताए ।

टन्डन टे«डसका सञ्चालकसमेत रहेका श्याम केसीले १६ लाखको चेक फिर्ता दिन्छु भन्दै १६ लाखको तमसुक बनाएर उल्टै फसाएको डाँगीले बताएका छन् । केसीले १६ लाखको तमसुक आफूसँग राखेर १६ लाखको चेक अनादर भन्दै जिल्ला अदालतमा मुद्दा दिएर डाँगीलाई मुद्दा बोकाएका छन् । ‘खातामा पैसा जम्मा हुँदासम्म लामो समय लाग्छ, त्यसैले चेक च्यातेर तमसुक बनाउने भनेपछि मैले हुन्छ भनें,’ डाँगीले भने, ‘१६ लाखको तमसुक बनाएर चेक अनादर मुद्दा चलायो ।’ डाँगीले पश्चिम दाङको धनौरीमा रहेको पाँच कट्ठा जग्गा अदालतमा टाँगेका छन् । जग्गाको मूल्यांकन साढे तीन लाख रुपैयाँ गरिएको छ । अब पैसा पनि नभएको र सम्पत्ति पनि भएकाले जेल जान सक्ने भन्दै उनी ठूलो चिन्तामा छन् । आफूसँग भएको सम्पत्ति गुम्नुका साथै झूटो मुद्दा पनि खेप्ने र उल्टै जेल पनि जानुपर्ने स्थिति आएकाले तनावपूर्ण अवस्था सिर्जना भएको डाँगीले बताए । तुलसीपुर बजारमा रहेको साढे तीन तलाको घर, ३०÷४० लाखको रेडियो पसल, तुलसीपुर–८ अश्वारामा रहेका ३२ वटा घडेरी बिक्री गर्नुका साथै पश्चिम दाङको धनौरीमा रहेको पाँच कट्ठा जग्गा अदालतमा टाँगेर समेत नपुगेपछि उनी अहिले भाडामा बस्दै आएका छन् । डेढ करोडको घरघडेरी ९० लाखमा बिक्री गरेको डाँगीले बताए । यता, केसीले तमसुक बनाए पनि च्यादिएको बताएका छन् । आफूले साँवा नपाएपछि अदालतमा मुद्दा हालेको भन्दै केसीले तमसुक बनाए पनि च्यातिदिएको उनले बताए ।

यो त उदाहरण मात्रै हो । यसरी धेरै जना घरबारविहीन भएको कतिपय व्यापारीहरूले नै बताएका छन् । गैरकानुनी रूपमा आर्थिक कारोबार गर्नेलाई कारबाही नगर्ने हो भने यसले भयावह अवस्था ल्याउन सक्ने भन्दै व्यापारीले यसलाई तत्काल रोक्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

यसैबीच, तुलसीपुर उद्योग वाणिज्य संघले पछिल्लो समय मिटर ब्याजको विषयले चरम रूप लिएको बताएको छ । मिटर ब्याजका कारण तुलसीपुरका तीन प्रतिष्ठित व्यापारी रतन ओली, नारायण शर्मा र ध्रुव केसीले आत्महत्या गर्नुका साथै दर्जनौं व्यापारीहरूको भागाभाग भएको तुलसीपुर उद्योग–वाणिज्य संघका अध्यक्ष बिरु रावतले बताए । अनौपचारिक कुराका क्रममा ५ प्रतिशतसम्म ब्याज लिने गरेको थाहा पाएको भन्दै अध्यक्ष रावतले यसबाट आफू निकै चिन्तित भएको बताए । जिल्ला प्रशासन कार्यालयले आफूकहाँ मिटर ब्याजको गुनासो नआएको बताएको छ । मिटर ब्याजको गुनासो आए तत्काल कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले बताए । ‘हामीकहाँ लेनदेनको मुद्दा मात्रै आउँछ,’ प्रजिअ श्रेष्ठले भने, ‘यदि कसैले चर्को मिटर ब्याज लगाएर दुःख दिएका छन् भने खबर गर्नुहोस्, तत्काल प्रहरी खटाएर पक्राउ गर्छौं ।’