गृहमन्त्रीका ५० दिने उपलब्धि, सिन्डिकेट तोड्नेदेखि बिदा कटौतीसम्म

राजधानी समाचारदाता / काठमाडौं

गृहमन्त्री रामबहादुर थापाले कार्यभार सम्हालेको ५० दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री थापाले सोमबार सरकारमा भित्रिएको ५० दिनमा गरेका ५० कामको विरणसहितको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

गत १४ फागुनमा गृहमन्त्रीको जिम्मेवारीमा आएपछि थापाले गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा गरेका कामको प्रगति सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको विवरणअनुसार यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्नेदेखि सार्वजनिक बिदा कटौती र विशिष्ट व्यक्तिहरूले कानुनविपरीत घरायसी प्रयोजनमा सुरक्षाकर्मी राखेका सुरक्षाकर्मी फिर्ता बोलाएकोसम्मका गतिविधि ५० दिने विवरणमा उल्लेख छ ।

गृहमन्त्रीले ५० दिनमा गृह प्रशासन सुधार कार्ययोजना जारी गर्ने, सार्वजनिक बिदा कटौती, ट्राफिक लाइट जोड्ने, कानुनविपरीत सुरक्षाकर्मी फिर्ता गर्ने, सरकारी नम्बर रहेका सेतो प्लेटका सवारीसाधनलाई नियमविपरीत रातो नम्बर बनाई प्रयोग गर्नुका साथै दुरुपयोग कामलाई महŒवपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।

यसैगरी, संघीय सरकार र प्रादेशिक सरकारबीच शान्तिसुरक्षा र समन्वयका कार्यहरू सम्पादन गर्न मुलुकको आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी कार्यकारी आदेशका सम्बन्धमा गृहले निर्णय गरेर मन्त्रिपरिषद्मा पठाइसकेको विवरणमा उल्लेख छ ।

यस्तै, प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाललाई कार्यक्षमता र वरिष्ठताका आधारमा नियुक्तिका लागि सिफारिस गरेर महानिरीक्षक नियुक्तिमा यसअघि हुँदै आएको विवादको अन्त्य गरी सर्वमान्य निर्णय गराउन सफल भएको समेत उल्लेख गरिएको छ । यसैगरी, गृहमन्त्रीले सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय चितवन, काठमाडौं उपत्यकास्थित विभिन्न प्रहरी एकाइको स्थलगत निरीक्षणका क्रममा तल्लो तहको प्रहरीको मनोबल बढाउने उद्देश्यसहित प्रहरी मेसमा प्रहरी जवानसँगै बसेर खाना खाएको र त्यसले तल्लो तहका प्रहरीको मनोबल बढाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको विवरणमा लेखिएको छ ।

यसअघि गृहमन्त्रीले गत १९ चैतमा ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृद्धिको लागि शान्तिसुरक्षा र सुशासन’ भन्ने नारा रहेको ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक गरेका थिए ।