आज एकताको ठोस सन्देश, माओवादी केन्द्रीय कार्यालय बैठकमा दाहालको ब्रिफिङपछि ‘वान टु वान’ वार्ता

टेनिस रोका / काठमाडौं

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकै मञ्चबाट आइतबार (आज) एकताको ठोस सन्देश दिने तयारी गरेका छन् ।

९ वैशाख अर्थात् लेनिन जयन्तीको अवसरमा कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर दुई दलले पार्टी एकताको घोषणा गर्ने तयारी गरेका थिए । विषय मिलाउन बाँकी रहेपछि एकीकरण घोषणा नै पछाडि धकेलिएको नेताहरूले बताएका थिए ।

पार्टी एकता संयोजन समितिले तय गरेको कार्यक्रममा दुवै अध्यक्षको उपस्थिति हुनेछ । कार्यक्रमबाट ओली र दाहालले एकताको ठोस सन्देश दिने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । उनले पार्टी एकता कुनै पनि शक्तिले रोक्न नसक्ने र एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको सन्देश दिने बताए ।

४ वैशाखमा बसेको संयोजन समितिको बैठकले विवादित विषय टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएपछि ओली र दाहाल निरन्तर छलफलमा थिए । शनिबार दुई अध्यक्षबीचको वार्ता निकै अघि बढेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकता कुनै शक्तिले रोक्न नसक्ने ठोकुवा गरे । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ता सकरात्मक ढंगले अघिबढेकाले एकतामा समस्या नरहेको बताए । ‘अहिले अध्यक्ष तहमा छलफल चलिरहेको छ, छलफल सकरात्मक छ, एकताको विषयमा कुनै शंका गर्नुपर्ने ठाउँ नै छैन,’ उनले भने ।

दुई दलबीच नेतृत्व व्यवस्थापन, पार्टी तथा संगठनमा एकता अनुपात, चुनाव चिह्न र विधानको भूमिकामा जनयुद्धको विश्लेषणको विषयमा सहमति जुटन बाँकी थियो ।

माओवादीले महाधिवेशनपछि दुई अध्यक्ष तथा अन्य नेताको भूमिकाबारे स्पष्टता खोजेको छ । एमालेले अहिलेलाई सह–अध्यक्ष प्रणाली गरेर महाधिवेशनबाट हल गर्नेगरी जान प्रस्ताव गरेको छ ।
२० चैतमा पार्टी एकताको खाका तय गर्न गठित दुई कार्यदलले प्रतिवेदन बुझाएपछि २३ देखि २५ चैतमा सम्पन्न प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता टुंग्याउने प्रयास गरेका दुई अध्यक्षले त्यसपछि ९ वैशाख अर्थात् २२ अप्रिल नेपालमा कम्युनिस्ट स्थापना दिवसको दिन एकता घोषणाको तयारी गरे पनि विवादित विषयमा सहमति जुट्न नसक्दा प्रक्रिया लम्बिएको हो ।
दुई अध्यक्षले एकताका लागि सहमति जुटाउन शनिबार, शुक्रबार, बिहीबार र बुधबार पनि छलफल गरेका थिए । पुनः आइतबार बिहान ८ बजेका लागि ‘वान टु वान’ वार्ता गरिने दुवै अध्यक्षका सचिवालयले जनाएका छन् ।
यसैबीच, एमाले अध्यक्ष ओलीसँग भएका सहमति र छलफलका सम्बन्धमा दाहालले माओवादी केन्द्रका नेताहरूसँग आजै ब्रिफिङ गर्दै छन् । ओलीसँगको वार्ताअघि माओवादी केन्द्रले आजै बिहान ७ बजे केन्द्रीय कार्यालयको बैठक डाकेको छ ।