महाधिवेशन मागसहित नेविसंघले बुझायो ज्ञापनपत्र

 

राजधानी समाचारदाता / काठमाडौं

नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले महाधिवेशन माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । संस्थापन पक्षको गतिविधिविरुद्ध सक्रिय संस्थापनपक्षइतर विद्यार्थीले पार्टी कार्यालय सानेपा मूलगेटमा सभापति देउवालाई भेटी ज्ञापनपत्रमार्फत तत्काल महाधिवेशन मिति तोक्न माग गरेका हुन् ।

नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले पार्टी निर्देशन र नेविसंघको विधि र विधान बेवास्ता गर्दै अध्यक्ष नैनसिंह महरले संगठनको गरिमा कमजोर र धराशयी बनाउने क्रियाकलाप गरेको भन्दै तत्काल विधि र प्रक्रियाअनुसार महाधिवेशन तोक्न नेतृत्वसमक्ष माग गरेको बताए । महाधिवेशन सकिएको २० महिना बित्दासमेत विवादित ११ जिल्लाको सन्दर्भमा कुनै कदम नचालिएकोप्रति नेविसंघले पार्टीलाई ध्यानाकर्षण गराएको उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए । अधिकारीले ज्ञापनपत्रमा तीन बुँदे माग राखिएको र १२औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोक्नसमेत ध्यानाकर्षण गराएको जनाए ।

केन्द्रीय सदस्य शुशील भट्टले नेविसंको विधि, विधान र सहमति विपरीत गरेका सम्पूर्ण अवैधानिक निर्णय तत्काल खारेज गर्न ज्ञापनपत्रमार्फत नेतृत्वको ध्यानाकर्षण गराएको जानकारी दिए ।

ज्ञापनपत्रमा सबै जिल्ला, विश्वविद्यालय र क्याम्पसमा प्रतिनिधि खटाई विधिवत महाधिवेशन गर्न माग गरिएको छ भने सहमति, सहकार्य र समझदारीअनुसार संगठनलाई गति दिन माग गरिएको छ । संगठनकै हितमा राखिएका मागहरू २४ घण्टाभित्र सम्बोधन नगरिए प्रतिकूल अवस्थाको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्नेसमेत उनीहरूले बताएका छन् ।