उभौली चाड र साकेला गीत

उभौली चाड र साकेला गीत

दिलेन्द्र मुकारुङ राई

उभौली (वैशाखे) र उधौली (मंसिरे) पूर्णिमामा साकेला÷साकेवा चाड किरात राई समुदायबीच हर्सोल्लासमय वातावरणमा मनाइन्छ । साकेला, साकेन्वा, साख्खेवा, तोषी, भूमे आदि विभिन्न नामले यो चाड राई समुदायबीच परिचित छ । यसै अवसरमा किरात राईहरू ढोल, झ्याम्टा, अर्नाको सिङ, पुङ, शिलिखोङ बजाउँदै सेउली र चौंरीको पुच्छर हल्लाउँदै साकेला गीत गाउँदै गोलाकारमा नाच्छन् ।

पूर्व मेचीकोसीमा बसोबास गर्ने किरात राई समुदायमा प्रचलित मौलिक लोपोन्मुख लोक भाकाहरूमा साकेला, रिसिया, लैबरी, आयानी, होप्माछाम, हाक्पारे, वाढाङ्मी, गोठाले, ठाडो भाका तथा अन्य गीतहरूबारे खोजी, संकलन, अनुसन्धान, व्याख्या र विश्लेषण कमै पाइएको छ ।

किरात राई समुदायको साकेला छाम (गीत) प्रायः सबैका लागि सामान्य भइसकेको अवस्था छ । तर, यसको महŒवबारे प्रकाश हुन अझै जरुरी देखिन्छ । २०४६ सालको जन आन्दोलनको सफलतापछि आफ्नो प्राचीन कालदेखि चल्दै आएको परम्परागत सांस्कृतिक मूल्यप्रति सजग भई पुनः प्रचलनमा ल्याएको पाइन्छ ।

साकेलामा भूमि, प्रकृति र पितृपूजा नै प्रमुख रूपमा मानेको पाइन्छ । अर्कोतर्फ धारा, पानि (चावा माङ) अथवा नाग (नागेलुङ) को पूजाका रूपमा पनि पुजिन्छ । सबैभन्दा पहिले सृष्टिको चुला सुप्तुलुङ अर्थात् पित्र, पूर्खा, सुम्दीमा पारुहाङ, माङको सेवा पूजा गरिसकेपछि मात्र साकेलाको पूजा बिजुवा (माङपा÷नाक्छोङ)ले गर्नुपर्ने हुन्छ । साकेलाको सेवा पूजाको अवसरमा साकेला गीत गाउँदै नाच्ने गरिन्छ ।

साकेला गीत

सुम्निहाङ्मो पारुहाङपा

सेन्ची सेन्माङ खाची सेमुना

साकोङ टोङसा यायोक टोङसा

साकाबायु ढाची सेमुना

खामलुङ, मानबहादुर (२०४५) साकेन्वा लाकछाम भुङ, पृ. ४३ ।

अष्टबहादुर दुमी राईले बताएअनुसार माङपा, नाकछोङ, बिजुवा, धामीले घरको सुप्तुलुङ (सृष्टि चुला÷पित्र÷माङ)को रिसिया गाउँदै सेवा पूजा गरी सकेपछि घर बाहिर निस्कने गर्छन् ।

विभिन्न ठाउँ, स्थानहरूको देवीदेवता पुज्दै, बुझाउँदै, भाक्दै सालपा पोखरी, शिलीचोङ पुगी कोसी, अरुण, तमर हुँदै मैदान घुम्दै, डुल्दै ठाउँठाउँमा बिसाउँदै देवी देउराली, खोलानाला, वनजंगल, हिमाल पहाड, पर्वत आदि मान्दैपुज्दै घाम डुब्ने स्थानसम्म पुग्नुपर्ने हुन्छ । त्यसैगरी, विभिन्न ठाउँमा बिसाउँदै, मानी पूजी घरसम्म, चुलासम्म आउने र चुला÷माङको पूजाआजा सेवा सम्पन्न गर्ने नाकछोङ बताउँछन् । माङपा÷नाकछोङ्ले त्यसपछि मात्र साकेलाको पूजाक्रम साकेला छाम भन्दै सुरु गर्छन् ।

साकेला (मणि शिलाहरू)को सेवा पूजा गर्ने क्रममा नाक्छोङ÷माङपाले साकेला स्थानमा मुन्दुमी सेवा प्रक्रिया गरी जमिनबाट साकेला खोजी बाहिर निकालिन्छ । नाक्छोङले जमिनबाट चराको अन्डाको आकार, प्रकार, रूप र त्यही मात्राको सेतो, कालो, छिरबिरे रङहरूमा साकेला (साकेवालुङ÷माङ) निकाल्छ । कुनै समयमा एकदुई र कहिले दुईभन्दा बेसी साकेला शिलाहरू प्राप्त हुने गर्दछ । समय राम्रो, शुभ, सहकाल हुने भए साकेला शिलाहरूको संख्या बढ्ने पनि अष्टबहादुर दुमी राईले बताए ।

जमिनबाट बाहिर निकालेपछि नकाटिएको केराको टुप्पो पात (तुप्ला)मा राखी पानीले पर्साइन्छ । जमिनबाट निकाल्दा ती शिला तातो हुने हुँदा पानीले पर्साउँदा पनीको बाफ निस्कने कुरा पनि बताउँछन् अष्टबहादुर । साकेलाको सेवा र पूजाआज गर्ने क्रममा नै नाक्छोङले साकेला मुन्दुमी गीत साथै नाच पनि नाच्दछ ।

 किरात संस्कृतिविद् सन्तकुमार इशाराका अनुसार भूमे नाग (सेती भूमे)को पूजासेवामा गाइने गीत हो, साकेला÷साकेवा छाम । त्यस्तै सृष्टिको उत्थानसँगै दुई दिदीबहिनी कुहुक्मा लुंलित र नाहुक्मा इशाराको सिर्जना भयो । उनीहरू प्राकृतिक आत्मा चेतनाले भरिएका माङमाहरू थिए ।

साकेला पूजाको महŒव बोक्ने र अर्थ दिने मौलिक गीतहरूको खोजी, संकलन, अभ्यास र यो अवसरस“ग सम्बन्धित साकेला गीतहरू सिर्जना गरी प्रचलनमा ल्याउनु आवश्यक छ

ती माङमाहरूबाटै साकेला (खेवारी छाम) प्रचलनमा सुरु भएको इशारा बताउँछन् । चुला पूजादेखि सकेला पूजा गर्नेसम्मको सेवा पूजा गर्ने कार्यमा भने माङ्पा÷नाक्छोङले नै साकेला पूजाको सन्दर्भको मुन्दुमी साकेला गीत (रिसिया) गाउने गर्छन् । त्यसो भएकाले माङ्पा÷माङ्माहरूले नै साकेला तथा अन्य मुन्दुमी माङ छाम÷रिसिया सिर्जना गरी गायनमा ल्याएको हुनुपर्छ । भूमे थानमा कोयी धामीले गाउने साकेला गीत ः

साकेल न बासाखम्बी नक्छो होबाचेल हे ए ए

दुवादु, दुवा दुवा दुवनिलो ह ह ह

मालो मालो मालोनिल ह ह ह

फवा देनेखम्बी देसाखम्बी ह ह ह

राई, डा. तारामणि (२०७१) साकेल, पृ. ३६ ।

साकेला पूजाको प्रक्रिया नाक्छोङले पूरा गरिसकेपछि बूढापाका, युवायुवती, केटा केटीहरू नाच र गानमा सहभागी हुन्छन् । साकेलामा ढोल, झ्याम्टा, शिलीखोङ, चांैरीको पुच्छर, सेउली, हतियार, धनु वाण, पुङ, माङ्पाले चिन्डो लिएर गोलो आकारमा गाउँदै नाच्दछन् राईहरू । साकेला (मणि शिला) जल, जमिन, जंगल, आकाश (प्रकृति÷माङ) सृष्टिकर्ता (पारुहाङ÷सुम्निमा)को प्रतीक हो । सृष्टिकर्ताले मानव तथा सारा जीवित प्राणीप्रति दिएको सेवाको अमूल्य योगदानको गीत हो साकेला ।

तर, बाहिर नाचगानमा खासै साकेला चाड र पूजाको सन्दर्भका गीतहरू नभएर रउसे र ठट्याउला गीतहरू गाउने गरिन्छ । साकेला पूजाको महŒव बोक्ने र अर्थ दिने मौलिक गीतहरूको खोजी, संकलन, अभ्यास र यो अवसरसँग सम्बन्धित साकेला गीतहरू सिर्जना गरी प्रचलनमा ल्याउनु आवश्यक छ ।

ज्ञानको पद्धतिका रूपमा रहेको लोकसाहित्य र लोकगायनलाई राष्ट्रिय पहिचानका रूपमा लिनुपर्ने र यिनलाई मनोरञ्जनभन्दा पनि बौद्धिक तथा पुजीकृत सम्पत्तिका रूपमा संरक्षण तथा संवर्धन गरिनुपर्दछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चाडपर्व राष्ट्रको सुन्दर धरोहर हो, जसले राष्ट्रिय एकतालाई बलियो बनाउँछ भने आपसी सद्भाव, सहिष्णुता र प्रेमपूर्ण वातावरण निर्माण सहयोग पु¥याउने बताएकी छन् । बुलु मुकारुङका अनुसार नेपालको प्रतिनिधित्व नेपाली लोकलयले नै गदर्छ । त्यस्तै श्रीओम श्रेष्ठ ‘रोदन’ले विश्वमा हामीले हाम्रो नेपाल र हामी नेपाली भनेर मौलिक रूपमा चिनाउने माध्यम लोकसाहित्य र संस्कृति रहेको बताए ।

नेपाली मौलिक लोकसंगीत, साहित्य र संस्कृति नैै जातीय समुदाय, राष्ट्रको सभ्यता, सम्पदा र पहिचान हो । त्यसैले नेपाली मौलिक लोकसंगीत, साहित्य र संस्कृतिको महŒव र मूल्यको बोध सबैमा हुनु आवश्यक छ भने तिनको खोजी, संकलन, जगेर्ना र प्रवर्धन गर्न पनि उत्तिकै जरुरी देखिन्छ ।