बाल आश्रममा लेखकको जन्मदिन

काठमाडौं / रास– युवा उपन्यासकार प्रदिप बस्नेत र उनका जुम्ल्याहा भाई प्राञ्जलले आफ्नो जन्मदिन सिफलस्थित बालगृहका बालबालिकालाई खाद्य तथा शैक्षिक सामग्री वितरण गरी मनाएका छन् ।

‘सेक्रेट लभ’ उपन्यास र ‘तितो सत्य’ कविता संग्रहका लेखक १७ वर्षीय प्रदीपले ती पुस्तक बिक्रीबाट आउने रोयल्टी बालगृहलाई दिने घोषणासमेत गरेका छन् ।

ट्रिटन इन्टरनेसनल कलेज सुविधानगर तिनकुनेका कक्षा ११ का विद्यार्थी प्रदीप र उनका भाईले जन्मदिनको अवसरमा बालगृहका बालबालिकाका लागि खाद्यान्न र केही सामग्री आफैंले जुटाएका हुन् । अन्य शैक्षिक सामग्री भने कलेजले उपलब्ध गराएको कलेजकी प्रशासन प्रमुख ऋतु न्यौपानेले जानकारी दिइन् ।