मत्स्येन्द्रनाथ रथजात्रा : पाकाले सिकाउने, ठिटा चढ्ने

सञ्चिता घिमिरे / रासस

ललितपुर

मत्स्येन्द्रनाथ जात्रामा मीननाथ रथ बाँध्दै आएका चिरीकाजी महर्जन अहिले छोरा भतिजालाई सिकाउने र सघाउने गर्छन् । रातो मत्स्येन्द्रनाथ जात्रामा काठको काम सकिएपछि बेतले रथ बाँध्नेलाई ‘ञँबाल’ भनिन्छ । ञँबालहरूले पुस्तौंदेखि यो काम गर्दै आएका छन् । उमेरका कारणले पनि महर्जन अहिले रथमाथि चढ्न आँट नआउने बताउ“छन् । उनी भन्छन्, ‘हामी पाकाले सिकाउने र ठिटा चढ्ने हो ।’ उनको पूर्खाले परम्परादेखि यो काम गर्दै आएको छ ।

उनका परिवारका बाजे र काकाले रथबाट लडेर घाइते नै भए पनि काम छाडेनन् । ‘आफ्नो परिवारले नै गर्दै आएकाले आफूले गर्दा रमाइलो लाग्छ,’ उनले भने, ‘जात्राक्रममा हुुने कामलाई यहाँका रकमेले उत्सव मान्छन् ।’

रथ बाँध्न नौ जना ञँबालाको दरबन्दी हुन्छ । तीमध्ये ६ जना ज्यालामा काम गरेर १५ जनाले मीननाथ रथ बाँध्दै आएका छन् । उनीहरूको खान्की जग्गा छैन । उनी भन्छन्, ‘असुरक्षित भए पनि मत्स्येन्द्रनाथको इतिहास जोगाउन काम गरिरहेका छौं ।’

तयारीदेखि जात्रा अवधिभर विभिन्न काममा आबद्ध हुने जात आफूलाई मत्स्येन्द्रनाथको काम गर्न पाएकोमा खुसी हुन्छन् । परम्परादेखि नै विभिन्न काम फरकफरक जातको जिम्मेवारी हुन्छ ।

मत्स्येन्द्रनाथका सेवकलाई गुठी संस्थानको भाषाअनुसार ‘रकमे’ भनिन्छ । उनीहरूमध्ये धेरैका नाममा पहिले जग्गा थियो । उनीहरू आफैं मोहीबाट कुत बुझ्थे । अहिले कतिपय जग्गा रैकर भइसकेको छ । रैकर नभएको कतिपय जग्गामा रकमे आफैं र कतिमा कार्यालयले कुत बुझेर दिन्छन् । कार्यालयले रकमेका लागि खान्की उपलब्ध गराउँदै आएको छ ।

जग्गा भएका र नभएका आफ्ूले गर्दै आएको काममा गर्व गर्छन् । पूर्खाले धान्दै आएको संस्कृति जोगाउन पाउँदा उनीहरू गर्व महसुस गर्छन् । जात्राक्रममा राँगो काट्दै आएका ८७ वर्षीया भोसी शाही अझैसम्म काम गर्दै छन् ।

उनी आफूलाई याद भएदेखि नै मत्स्येन्द्रनाथ जात्राका लागि मासु काट्दै आएका हुन् । भगवानको काम गर्न पाउँदा उनलाई खुसी लाग्छ । भन्छन्, ‘भगवानको काम गरेरै मर्न पाउँदा आनन्द लाग्छ ।’ उनीपछि उनका सन्तानले नै यो काम गर्नेछन् । काम गरेबापत जग्गा नभए पनि पारिश्रमिक लिएर काम गर्दै आएका छन् ।

नेपाल पञ्चांग निर्णय समिति सदस्यसमेत रहेका कीर्तिमदन जोशीको परिवारले रातो मत्स्येन्द्रनाथ जात्राका लागि साइत हेर्दै आएको छ । उनका बुबा र अहिले भाइले साइत हेर्ने गर्छन् ।

गणक, लेखक, स्रोता र दर्शक गरेर चार ज्योतिषको दरबन्दी व्यवस्था गुठीले गरेको छ । तर, लामो समयदेखि दुईजना मात्रै कार्यरत छन् । आफूलाई याद भएदेखि खान्की जग्गा नभएको जोशी बताउँछन् ।

आफ्नो पुस्ताले गर्दै आएकामा आफूपछिको पुस्ताले पुख्र्यौली काम गर्ला कि छाड्ला भन्ने चिन्ता उनमा छ । भन्छन्, ‘अहिलेको पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको छ, हामीले संस्कृतिप्रतिको मोह कम हुन दिनुहुँदैन ।’

गुठी संस्थान ललितपुर शाखा अधिकृत शैलेन्द्र पौडेलले मेरो बाबु–बाजेले गरेको काम छाड्नुहुँदैन भन्ने भावना रकमेहरूमा रहेको बताउँछन् । तोकिएको जात र त्यही परिवारका सदस्यले मात्रै मत्स्येन्द्रनाथको काम गर्न पाउने उनले बताए । त्यसैले पनि धेरैले काम गर्न पाउँदा सम्मानित महसुस गर्ने गरेको उनको अनुभव छ । अध्ययन वा रोजगारीको सिलसिलामा विदेश गएका कतिपय कामको समयमा आउने गरेका छन् ।

रकमेको कामका आधारमा पारिश्रमिक व्यवस्था गरिएको हुन्छ । वर्षभर धेरै काम गर्नुपर्ने जातलाई धेरै र थोरै गर्नेलाई कम पारिश्रमिक व्यवस्था हुन्छ । रकमेका लागि चामल, चिउरा, नुन, बेसार, अदुवा, मासुलगायत खान्कीसमेत व्यवस्था गुठीले गर्दै आएको छ ।

मत्स्येन्द्रनाथको सीमित स्रोतबाट खर्च गर्नुपर्ने बाध्यता रहेको पौडेल बताउँछन् । मत्स्येन्द्रनाथका नाममा भएका जग्गामध्ये तैनाथी जग्गा गुठीले बढी आम्दानी लिन सक्छ । उनी भन्छन्, ‘कतिपय जग्गा कहाँ छ थाहा छैन, कति थाहा भएर दर्ता हुन बाँकी छ र कतिको आम्दानी लिन सकिएको छैन ।’

रकमे सबैको फरकफरक जिम्मेवारी हुन्छ । साइत हेर्ने काम ज्योतिष, पूजा गर्ने पानेजु फूल चढाउने माली, रंगरोगन गर्ने नेकुको जिम्मेवारी हुन्छ । भाँडाकुडा चढाउने कुमाले, रथ गुडाउन निर्देशन दिने सै–सै बाजे, भात पकाउने सुबाल, काठको काम गर्ने बाराही हुन् ।

त्यस्तै, ञँबालले रथमा बेत बाँध्ने, घकुले रथ नियन्त्रण गर्ने गर्छन् । गुठीले यी रकमेको फरकफरक संख्यामा दरबन्दीको व्यवस्था गरेको छ ।