सम्पदा पुनर्निर्माण सुस्त गतिमा

लक्ष्मी गारु / रासस

भक्तपुर

१२ वैशाख २०७२ को भूकम्पले क्षति भएका पुरातात्विक र ऐतिहासिक महŒवका सम्पदा पुनर्निर्माण सुस्तगतिमा भइरहेको छ । पुरातŒव विभाग, नगरपालिका र सम्बन्धित निकायबीच समन्वय, बजेट, दक्ष जनशक्ति र आवश्यक सामग्रीको अभावले पुरातात्विक र ऐतिहासिक महŒवका सम्पदा पुनर्निर्माण सुस्त हुन पुगेको हो ।

भूकम्पले जिल्लामा १०६ वटा सम्पदा पूर्ण रूपमा क्षति भएको थियो भने १२६ सम्पदा आंशिक क्षति भएको दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरले जनाएको छ । तीमध्ये दुई दर्जनको हाराहारीमा सम्पदा पुनर्निर्माण सम्पन्न भए भने केहीको भइरहेको छ ।

भक्तपुर नगरपालिकाले हालसम्म दरबार क्षेत्र प्रवेश गर्ने ऐतिहासिक खौमा प्रवेशद्वार, ५५ झ्याले दरबार दक्षिण पूर्वी कुनामा रहेको नारायण मन्दिर र दरबारस्क्वायर परिसरको अग्लो बद्रीनारायण मन्दिर पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

त्यस्तै, खौमा प्रवेशद्वारसँगै दरबार क्षेत्रको त्रिविक्रम नारायण मन्दिर, हरिहर नारायण मन्दिर, दत्तात्रय क्षेत्रमा रहेको भीमसेन सत्तल मर्मत र लक्ष्मीनारायण मन्दिरको मर्मत कार्य सम्पन्न गरिसकेको नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले ऐतिहासिक सिद्धपोखरीको पर्खाल मर्मत तथा रंगरोगन, गपलीस्थित ढुंगेधारा उत्खनन, दयननी इनार उत्खनन, ध्वनन्चा ढुंगेधारा संरक्षण, लःघुपाटी संरक्षण कार्यसमेत सम्पन्न गरिसकेको छ ।

यसैगरी तलेजु संरक्षण, कमलविनायक सत्तल पुनर्निर्माण, छुमा गणेश द्य छें पुनर्निर्माण, कुशी प्वाकः गणेश द्य छें पुनर्निर्माण काम भइरहेको छ ।

भूकम्पपछि तत्काल सुधार कार्यक्रममार्फत दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरले गोलमढीको गणेश मन्दिर, तलेजुको सैनिक आवास गृह, दरबार स्क्वायरको जगन्नाथ मन्दिर, मध्यपुर थिमी नगरपालिका–८ बोडेको महालक्ष्मी मन्दिर, थिमीकै चोडे गणेश मन्दिर, चाँगुनारायण मन्दिर, यन्त्र वत्सला मन्दिरको मर्मत तथा सुधार गरिसकेको जनाएको छ ।

भूकम्पले जिल्लाका आंशिक क्षति पुगेको सम्पदा उद्धारका कार्यसँगै निर्माणमा जोड दिएको दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका इन्जिनियर मोहन श्रेष्ठले जानकारी दिए । उनले पोस्ट डिजास्र्टड रिकभर फाउन्ड (पीडीआरएफ) अन्तर्गत परेका २८ वटा सम्पदामध्ये केहीको पुनर्निर्माणकार्य भइरहेको जानकारी दिए ।

‘यो बहुवर्षीय कार्यक्रमअन्तर्गत हुनाले यसमध्ये चाँगुको सरस्वती मन्दिर, महामञ्जुश्री क्षेत्र र भक्तपुर महालक्ष्मी देवगृहको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘सूर्यविनायकको आमा गणेश मन्दिर र थिमीको चोडे गणेशको पाटीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’ बाँकी रहेका सम्पदाको पनि पुनर्निर्माण कार्यका लागि आवश्यक छलफल भइरहेको उनले जानकारी दिए ।

यसैगरी पीडीएनएअन्तर्गत सात सम्पदा पुनर्निर्माण कार्यमध्ये वत्सला दुर्गा मन्दिर १ करोड २ लाख ६२ हजार २१३, केदारनाथ मन्दिर ७२ लाख ६३ हजार ३९७ को लागतमा भक्तपुर नगरपालिकाले गरिरहेको छ ।

इन्जिनियर श्रेष्ठले पुनर्निर्माण कार्य सकेसम्म छिटो गर्दै आएको दाबी गरे । उनका अनुसार दरबार क्षेत्रको फसी देगः(शिलु महादेव) ४ करोड २२ लाख, तबा सतः(लामो पाटी) ३ करोड १२ लाख, सिद्धिलक्ष्मी मन्दिर २ करोड २२ लाख, १ करोड ११ लाखको लागतमा दधिकोटको अनन्तलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण कार्य भइरहेको छ ।