सबै धर्मलाई उत्तिकै सम्मान : देउवा

राजधानी समाचारदाता / काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताएका छन् ।  मुस्लिम संघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशन पार्टी कार्यालय सानेपामा शनिबार उद्घाटन गर्दै देउवाले सबै धर्मलाई कांग्रेसले उत्तिकै सम्मान गर्ने भन्दै नयाँ संरचनाअनुसार मुस्लिम समुदायको समेत प्रतिनिधित्व बढाउन जोड दिइने बताएका हुन् ।

‘नयाँ संरचनाअनुसार पार्टीको विधान संशोधन हुने तयारीमा छ, संशोधनमार्फत मुस्लिम समुदायको पनि आरक्षण व्यवस्था हुन्छ,’ सभापति देउवाले भने ।

देउवाले मुस्लिम समुदायले नेपालका आर्थिक, सामाजिक र राजनीतिकलगायतका परिवर्तनमा महŒवपूर्ण भूमिका खेलेको भन्दै पार्टीले त्यसको मूल्यांकन गरेको समेत उल्लेख गरे । उनले पार्टी महासमिति बैठक छिट्टै बोलाइने तयारी भइरहेको जानकारी पनि दिए ।वरिष्ठ नेता रामचन्द्र पौडेलले मुस्लिम धर्मावलम्बीको सम्मानपूर्ण प्रतिनिधित्वका लागि कांग्रेस प्रतिबद्ध रहेको बताए ।

महामन्त्री डा. शशांक कोइरालाले पार्टीले हार सामना गरिरहेका बेला मुस्लिम संघको साथ आवश्यकता रहेको औंल्याए ।उद्घाटन समारोहमा मुस्लिम संघ अध्यक्ष अब्दुल सतारले वर्तमान सरकारले मुस्लिम धर्मावलम्बीको बिदा कटौती गरेको प्रति आपत्ति जनाए ।

उनले पार्टीले समेत आरक्षण व्यवस्थामा मुस्लिम समुदायलाई विभेद गरेको भन्दै आपत्ति प्रकट गरे । विधान संशोधनमार्फत मुस्लिम समुदायको प्रतिनिधित्व बढाउनुपर्ने भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराए ।

दोस्रो केन्द्रीय महाधिवेशनबाट मुस्लिम संघ नेपालको नयाँ कार्यसमिति चयन हुँदै छ । महाधिवेशन आज आइतबारसम्म चल्ने संघ वरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्दिनले जानकारी दिए ।