१० दिनमै १२२ नयाँ विद्यार्थी भर्ना

बलराम प्यासी / काठमाडौं

नया“ विद्यार्थी भर्ना अभियान चलिरहेकै बेला बालकोटस्थित सामुदायिक विद्यालय महेन्द्र शान्ति माविमा १० दिनमै १२२ नयाँ विद्यार्थी भर्ना भएका छन् ।

सरकारले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थी आर्कषण बढाउन गत ५ वैशाखदेखि ‘नयाँ विद्यार्थी भर्ना अभियान’ सुरु गरेको हो ।

२०४६ सालपछि छोटो अवधिमा धेरै नयाँ विद्यार्थी थपिएको पहिलो घटना भएको विद्यालयले जनाएको छ । विद्यालयमा स्थापना गरिएको ५ लाख ५० हजार रुपैयाँको दुई छात्रवृत्ति कोष र भारतीय दूतावासले १ करोड ५५ लाख रुपैया“को लागतमा बनाइदिएको नयाँ विद्यालय भवन आकर्षणको मुख्य कारण भएको विद्यालयले दाबी गरेको छ ।

यद्यपि, सो विद्यालयले भौतिक, पठनपाठन र प्रशासनिक सुधार गरेपछि विद्यार्थी संख्या वृद्धि भएको पनि दाबी गरिएको छ । आफ्नै स्वामित्वको चार रोपनी जग्गासहितको विद्यालय हाता र खेल्ने ठाउँ छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमन्तकुमार कार्कीले ५ लाख रुपैयाँ र शिक्षासेवी प्रा.डा. रामविक्रम सिजापतिले ५० हजार राशिबाट छात्रवृत्ति कोष खडा गरेका थिए । उनले आफ्ना पिहता कृष्णबहादुर, आमा हिराकुमारी र दाजु अर्जुन कार्कीको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरेका हुन् । उनले शान्ता सिजापतिको स्मृतिमा पनि छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

नर्सरीदेखि कक्षा १० सम्मका विपन्न, जेहेनदार र उत्कृष्ट ३० भन्दा बढी विद्यार्थीलाई नगदसहित छात्रवृत्ति दिनेगरी कोष स्थापना गरिएपछि जेहेनदार विद्यार्थी आर्कषित भएको विद्यालयको विश्वास छ । थपिएका नयाँमा केही विद्यार्थी निजी विद्यालय छोडेर आएका पनि छन् ।

गत वर्षको शैक्षिक सत्रमा वर्षभर मुस्किलले ७५ नयाँ विद्यार्थी थपिएकोमा यसपटक ५ देखि १४ वैशाखसम्म दस दिनको अवधिमा १२२ जना नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक गोपाल विक्रम थापाले जानकारी दिए ।

‘अझै पनि नयाँ विद्यार्थी संख्या थपिने क्रम जारी छ,’ उनले भने, ‘भर्ना हुन आएका विद्यार्थीमध्ये प्रवेश परीक्षा उतीर्ण भएकालाई मात्रै भर्ना गरेका छौं ।’ यही अनुपातमा नयाँ विद्यार्थीको चाप कायम रहे चालू शैक्षिक सत्रमा विद्यार्थी संख्या ५ सय नाघ्ने विद्यालयको दाबी छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थी घटाउँदा पुरानाका संख्या ३५० को हाराहारी छ भने त्यसमा १२२ नयाँ विद्यार्थी थपिइसकेका छन् । सरकारले गत ५ वैशाखदेखि थालेको नयाँ विद्यार्थी भर्ना अभियानलाई सघाउन विद्यालयका सबै शिक्षक परिचालन गरी घरदैलो कार्यक्रम गरेको थियो ।

२००९ सालमा स्थापित सूर्यविनायक नगरपालिका २ बालकोटको एक मात्र पुरानो सामुदायिक मावि हो । थपिएका १२२ नयाँ विद्यार्थीमा भक्तपुरका साथै ७७ जिल्लाका मात्रै नभई भारतीय बालबालिका पनि रहेको प्रधानाध्यापक थापाले जानकारी दिए । उनका अनुुसार बालकोट, चाँगाथली, सिरुटार, कौशलटार आसपासका क्षेत्रमा रोजगारी गर्दै आएका भारतीय नागरिकका सन्तान छन् ।

प्रधानाध्यापक थापाले विद्यालयमा रहेका अनुशासनहीन र खराब चरित्रका विद्यार्थीलाई विद्यालयले यसै शैक्षिक सत्रदेखि हटाउने अभियान पनि सुरु गरेको छ । ‘हामी विद्यार्थी संख्या बढाउनभन्दा पनि गुणस्तरीय र अनुशासित विद्यार्थी मात्रै थप्ने अभियानमा छौं,’ उनले भने, ‘सुधार्न नसकिएका खराब आचरणका विद्यार्थीलाई विद्यालयबाट क्रमशः हटाउँदै लानेछौं ।’