कांग्रेस बैठक निर्णय लेखनमा भाषा विवाद, सभापतिले हार स्विकार्न मानेनन्

महेश्वर गौतम / काठमाडौं

नेपाली कांग्रेसको जारी चुनावी समीक्षा बैठकमा हारको कारण वाम तालमेल कि नेतृत्व भन्ने विषयमा विवाद भएको छ । संस्थापन पक्षले निर्वाचनमा पार्टी पराजयको कारण वाम गठबन्धन भनिरहँदा संस्थापनइतर पक्ष नेतृत्वकै कारण हार भएको बताउँदै आइरहेको छ । बैठकको समापनमा भाषाकै कारण विवाद उत्पन्न भएको हो ।

९ चैतबाट निर्वाचन समीक्षाका लागि भन्दै डाकिएको बैठकको शनिबार समापन गर्ने कार्यक्रम रहेकोमा बैठकको निर्णय लेखनमा भाषा विवाद हुँदा बैठक नै नबसी आइतबारका लागि बोलाइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने नेता मीन विश्वकर्माले समापन बैठकको निर्णय र निष्कर्षका विषयमा भाषागत विवाद हुँदा बैठक आइतबारका लागि बोलाइएको बताए ।

‘बैठकको समापनका क्रममा निर्णय लेखनका विषयमा भाषागत भिन्नता आएकै हो, पौडेल पक्षका नेताहरूले निर्णयको भाषामा विमति राख्नुभएको थियो । तर, अनौपचारिक छलफलपछि विवाद समाधान भएको छ,’ नेता विश्वकर्माले राजधानीसँग भने ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहले पार्टीलाई हित गर्ने तरिकाबाट नभई नेतृत्वलाई झनै कमजोर बनाउने र गुटलाई बलियो बनाउने तरिकाबाट निर्णय लेख्न दबाब उत्पन्न गराएको समेत बताए ।

अर्का एक नेताले भने नेतृत्व नै दोषी रहेको आरोप लगाउँदै सोहीअनुसारको भाषा निर्णयमा राखिनुपर्ने भन्दै पौडेल पक्षीय नेताहरूले संस्थापन पक्षलाई दबाब दिँदा बैठक नबसीकन आइतबारका लागि बोलाइएको जानकारी दिए ।

‘निर्णयमा नेतृत्वले हारको जिम्मा लिने खालको भाषा आएन, वाम तालमेललाई मात्रै हारको कारण भनेर नेतृत्व पन्छिन खोज्यो । त्यही कारण बैठक बस्न सकेन,’ ती नेताले भने ।

पौडेल समूहका नेता मानिने नवीन्द्रराज जोशीले भने निर्णयका विषयमा छलफल जारी रहेको र पराजयको कारण स्पष्ट रूपमा आउने बताए ।‘छलफल चलिरहेको छ, हारको जिम्मेवारी लिन नेतृत्व तयार हुनुपर्छ, आन्तरिक कारण पनि हार भएको हो,’ नेता जोशीले भने ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने १२औं दिनसम्म चलेको बैठक औपचारिक रूपमा अघि बढेको भए पनि १३औं दिनको बैठक अनौपचारिक रूपमा बसेको बताए ।

‘१२औं दिनसम्म औपचारिक रूपमा छलफल भएको थियो तर १३औं दिनको बैठक अनौपचारिक भयो, समापनको निर्णय लेख्न पर्याप्त समय नभएका कारण बैठक आइतबारका लागि डाकिएको छ,’ प्रवक्ता शर्माले भने ।

उनले निर्वाचनमा पराजयपछिको कारण विभिन्न भएको भन्दै सबै कारणसहित बैठक निष्कर्षमा पुग्ने जानकारी दिए ।शनिबार नै बैठक समापन गर्ने र बैठकले महासमिति र जिल्ला सभापतिहरूको भेलाका लागि बैठकको स्थान र मिति तय गर्ने बताइएको थियो ।

नेता विश्वकर्माका अनुसार आइतबारको बैठकमा सभापति देउवासहित महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले बैठकमा उठेका विषयमा धारणा राख्नेकार्यक्रम छ । शनिबारको बैठक बिहान ९ बजेबाट सुरु हुने भनिए पनि नेताहरूबीच निर्णय कसरी लेख्ने भन्नेमा विवाद हुँदा साँझसम्म शीर्ष नेतृत्वबीच मात्रै छलफल भएको थियो ।

महासमिति बैठकमा पनि विवाद

जारी केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्ने बताए पनि बैठकको मितिका विषयमा समेत समापन बैठकमा विवाद भएको छ । पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सुझाएअनुसार महासमिति मिति तोक्न आनाकानी गरेपछि सो विषयमा समेत विवाद भएको हो ।

संस्थापन पक्ष जेठको अन्त्यतिर जिल्ला सभापतिहरूको भेला डाकेर भदौ वा असोजसम्ममा महासमिति बोलाउने तयारीमा छ । तर, पौडेल समूहले जेठको अन्त्यसम्ममा नै महासमिति डाक्न दबाब दिएपछि सो विषयमा समेत सहमति जुटेको छैन । देउवा पक्षले भने जेठमा सभापतिहरूको भेला गरेर असारमा सातवटै प्रदेशका नेताहरूको भेला गर्ने र नयाँ संरचनाअनुसार पार्टी विधानको खाका तयार गरेर भदौ वा असोजमा महासमिति बोलाउँदा सहज हुने बताउँदै आएको छ ।