‘ओमानसँग छिट्टै श्रम सम्झौता’

राजधानी समाचारदाता / काठमाडौं

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमान सरकारबीच छिट्टै द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ ।

मन्त्री र राजदूतबीच मन्त्रालयमा भएको सो भेटवार्तामा ओमानसँग श्रम सम्झौताका लागि मस्यौदामाथि छलफल गरी छिट्टै दुई देशबीच श्रम सम्झौता गर्ने एजेन्डामा विशेष कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

सो छलफलका क्रममा श्रममन्त्री बिष्टले वैदेशिक रोजगारीका लागि ओमान जाने नेपाली कामदारको हकहित र सामाजिक सुरक्षाका लागि द्विपक्षीय श्रम सम्झौता अत्यावश्यक भएकाले मस्यौदालाई छिट्टै अन्तिम रूप दिएर सम्झौता गरिनुपर्ने धारणा राखेका थिए । अहिले मन्त्रालयमा श्रम सम्झौताबारे मस्यौदामाथि अन्तिम छलफल भइरहेको बताइएको छ । मस्यौदामाथि केही दिनको छलफल र निष्कर्षपछि सम्झौताको मिति तय गरिने मन्त्रालयले

जनाएको छ ।

ओमानका लागि नेपाली राजदूत पराजुलीले ओमानसँग छिट्टै श्रम सम्झौता हुने जानकारी दिएकी छन् । हाल नेपालमा रहेकी राजदूत पराजुलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बिष्टलाई मन्त्रालयमा भेटघाट गर्दै यस्तो जानकारी गराएकी हुन् । उनले ओमानसँगको श्रम सम्झौताका लागि अहिले आफूहरू जुटिरहेको बताइन् । उनले श्रम सम्झौताको मस्यौदामाथि छलफल गरी चाँडै दुई देशबीच श्रम सम्झौता गर्नेबारे कुराकानी भएको र त्यसमा ओमान सरकार सकारात्मक रहेको जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

श्रम सम्झौताको मस्यौदामाथि छलफल गरी चा“डै दुई देशबीच श्रम सम्झौता गर्नेबारे कुराकानी भएको र त्यसमा ओमान सरकार सकारात्मक रहेको जानकारी दिएको मन्त्रालयले जनाएको छ

सोही क्रममा श्रममन्त्री बिष्टले वर्तमान सरकारको समृद्धि र विकासको नीतिअनुसार अघि बढेको भन्दै वैदेशिक रोजगारीका लागि ओमानसहितका देश जाने नेपाली कामदारको हकहित र सामाजिक सुरक्षाका लागि द्विपक्षीय श्रम सम्झौता अत्यावश्यक भएकाले श्रम सम्झौताको मस्यौदालाई छिट्टै अन्तिम रूप दिएर सम्झौताको वातावरण बनाउन आग्रह गरेका थिए ।

ओमानका लागि नेपालको पहिलो राजदूतका रूपमा रहेकी पराजुलीले गत वर्षबाट जिम्मेवारी सम्हालेकी हुन् । हाल मन्त्रालयमा ओमानसँग गरिने श्रम सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ । गत असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उच्चस्तरीय भ्रमणको समयमा पनि श्रम सम्झौताका विषयमा निकै कुरा उठेको थियो ।

सोही भ्रमणका अवसरमा नेपाल र ओमानबीच द्विपक्षीय परामर्शसम्बन्धी संयन्त्र निर्माण सम्भौतामा हस्ताक्षर भएको थियो । सोही सम्झौताका आधारमा दुई देशबीच प्रत्येक वर्ष विविध कार्यक्रमको आयोजना गरिने मन्त्रालयले जनाएको छ ।