सहयोग होइन सद्भाव

सहयोग होइन सद्भाव

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज तेस्रोपटक नेपाल भ्रमणमा आउँदै छन् । राजकीय भ्रमणको सुरुवात केन्द्रबाट गर्ने परम्परा तोड्दै उनी यसपटक प्रदेश २ को राजधानी जनकपुरमा हँुदै काठमाडौं आउँदै छन् । राजकीय अति विशिष्ट पाहुनाका रूपमा उनी जनकपुर, काठमाडांै र मुक्तिनाथ पुग्दै छन् । धार्मिक र राजनीतिक दुवै महŒव बोकेको यो भ्रमण नेपालका प्रधानमन्त्रीको भारतको राजकीय भ्रमण लगत्तै हो । विगतमा राजनीतिक रूपमा तिक्तता र मिठासका झन्डै समानान्तर सम्बन्धबाट गुज्रिएका दुई देशबीचको सम्बन्धमा पछिल्ला दिन आएको सुमधुरतालाई मोदी भ्रमणले कसरी उचाइमा पु¥याउँछ हेर्न बाँकी छ । तर, छिमेकीका नाताले आपसी सम्बन्धलाई दुवै मुलुकले उच्च महŒव दिएको स्पष्ट सन्देश हो यो भ्रमण ।

संघीय संरचनामा गइसकेपछि अति विशिष्ट अतिथिको पहिलो स्वागत गर्ने अवसर यसपटक संघीय सरकारले पाएको छ । यस अर्थमा संघीयताको प्रारम्भिक अभ्यासमा रहेको प्रादेशिक सरकारका लागि यो नौलो मात्र नभएर ऐतिहासिक अवसर पनि हो । विगतमा भारतले नेपालको संविधानको खुलेर स्वागत नगरेको संशयसमेत मेट्दै प्रदेश सरकारको पहिलो स्वागत स्वीकार गरेर मोदीले संविधानअनुसारका निकायलाई व्यवहारमार्फत स्वीकार गरेका छन् । कूटनीतिक रूपमा छमेकी मुलुकले संविधानलाई स्वीकार गरिसकेको यो स्पष्ट सन्देश हो । प्रधानमन्त्रीका रूपमा मोदीले पहिलोपटक नेपाल भ्रमणको क्रममा संसद्मा सम्बोधन गरे । जसको सकारात्मक छाप उनले भारतीय नाकाबन्दी अघिसम्म कायम राखे । संविधानको अन्र्तवस्तुमा असहमति जाहेर गर्न भारतले लगाएको नाकाबन्दीले उनको त्यसबेलाको छविलाई अवश्य घटाएको छ । तर, नेपालका प्रधानमन्त्रीको भारत भ्रमण र त्यस क्रममा भएका सहमतिपछि नागरिक तहमा देखिएको विगतको तिक्तता घट्दै गएको छ । प्रदेश २ केन्द्रित दलको असन्तुष्टिलाई साथ दिनेगरी सोही प्रदेशबाट बढी प्रतिनिधित्व गर्ने दलको आन्दोलनको मोहडामा भएको नाकाबन्दी बिर्साउन मोदीले प्रदेश २ लाई नेपाल प्रवेशद्वारको रूपमा रोजेर संविधानको स्वीकार्यतासँगै सुमधुरता खोजेको सन्देश दिएका छन् । दुईदिने नेपाल बसाइपछि भारत र प्रधानमन्त्री मोदीलाई लिएर बाँकी रहेका तुष मेटिने गरी दुवै पक्षले तयारी गर्नुपर्नेछ ।

नाकाबन्दीको असरको समीक्षा यो भ्रमणमा हुने आशा जनतामा छ । सँगसँगै उनलाई विभिन्न ठाउँमा गर्ने अभिनन्दनको विषयमा समेत सर्वसाधारणमा चासो र प्रतिक्रिया देखिन्छ । अतिथिलाई सत्कार गर्ने नेपाली परम्परा हो । बिनास्वार्थ गरिने यस्ता सम्मान र स्वागतलाई लिएर संशय पालिरहनु जरुरी छैन । सँगसँगै विगतमा नेपाललाई भारतीय पक्षले दिने बाचा गरेका सुविधा र सहयोग (भूकम्पपछिको पुनर्निर्माण, ढुवानी, पारवहनलगायत) मा भएका विलम्ब र प्रक्रियागत त्रुटि यसपटकको भ्रमणपछि सच्चिनुपर्छ । संस्कृतिक निकटताका आधारमा परम्परादेखि कायम भएका र गराइएका दरारलाई मेट्न नेपाल र भारत दुवै पक्षले उत्तिकै होसियारीसाथ संवाद गर्नुपर्छ । नेपालको अथाह जलविद्युत् सम्भावना, भारतमार्गबाट हुने पेट्रोलियम ढुवानीसहित विगतका सबैखाले सहमति र सम्झौताको पूर्ण कार्यान्वयन र पुनरावलोकनको प्रतिबद्धता यसपटक भयो भने दुई छिमेकी मुलुकबीच नागरिक तहमा कायम संशयको बादल हट्नेछ । नेपाल पक्ष भारतसँग अपेक्षाभन्दा बढी हार्दिकता कायम गर्नमा केन्द्रित हुनुपर्छ । प्रत्यक्ष आर्थिक सहयोगभन्दा विश्वासको सम्बन्धमा मोदी भ्रमणलाई केन्द्रित गर्नुपर्छ । परनिर्भरताबाट माथि उठ्न खोज्दै गरेको नेपालका लागि मोदी भ्रमण सहयोगका लागि मात्र नभई सद्भावका दृष्टिकोणबाट सफल बनाइनुपर्छ ।