भ्रमणपछिको आस

भ्रमणपछिको आस

 

‘नेपाल आफ्नै प्राथमिकता र आवश्यकताअनुसार अघि बढोेस् ।’ ३० घण्टाको नेपाल बसाइको अन्तिम सम्बोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको उद्देश्यलाई एक वाक्यमा संश्लेषण गरे । भ्रमण अवधिभर राजनीतिक रंगबाट जोगिन हर प्रयास गरेका मोदीले पटक पटक दोहो¥याए, नेपालसँगको सम्बन्ध पौराणिक कालदेखिको हो, यो सुदृढ छ र हुनुपर्छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको ३३ दिनपछि मोदी नेपाल आएर सो भ्रमणका बेला उठेका एजेन्डा ब्युँझाए । सहमतिलाई अघि बढाउने वाचा गरे । नेपालका प्रधानमन्त्रीले नोटबन्दीसम्मको विषय उठाए । नाकाबन्दीको समीक्षा गर्न भ्याएनन् । मोदी भारत फर्किए ।

भ्रमणको सार जे जस्तो भए पनि मोदी यस्तो बेला काठमाडौंमा आए, जुन बेला नेपाल समृद्धिको मार्गचित्रको गृहकार्यमा छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई साथ दिन नेपाल आएको सन्देश उनले दिए । भ्रमणका क्रममा प्रदेश २ का मुख्य मन्त्रीको रोइलोबाहेक अति विरोध र अति भक्तिभाव दुवै रहेन । यस अर्थमा यो भ्रमण मोदीका लागि तीर्थाटन र सम्बन्ध सुधारमा सफल बन्यो । नेपालका लागि छिमेकीसँग विश्वासको सम्बन्ध बन्यो । कृषि अनुसन्धान, शिक्षा, रेल र जलमार्ग विकासमा भारतको यसअघिको प्रतिबद्धता यसपटक पनि उच्च प्राथमिकतामा परेको छ । दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन होस् या मोदीले अभिनन्दनका क्रममा व्यक्त गरेका विचार, दुवै आपसी विश्वासमा केन्द्रित थिए । भ्रमणका क्रममा मोदीले आफूलाई नेपाल चिनाइरहन नपर्ने सन्देश काठमाडौं महानगरपालिकाको अभिनन्दनपछि व्यक्त गरे । नेपालका कुनाकाप्चा चिनेका मोदीले नेपाली चाहना बुझेका छैनन् भन्ने अवस्था अब रहेन । यस अर्थमा सामाजिक सञ्जालमा देखिएका अपेक्षाबारे उनी जानकार भएर फर्किएका छन् । आशा गरौं, आगतमा नेपालको विकास र समृद्धिमा भारतको बलियो साथ र सहयोग रहनेछ । र, यो विश्वास मोदीले दिलाएर फर्किएका छन् ।

सबैभन्दा महŒवपूर्ण विषय, मोदी आगामी ६ महिनाभित्र दुई देशबीचका विगतमा रोकिएका सबै काम सम्पन्न गर्ने विषयमा सहमत देखिएका छन् । प्रधानमन्त्री ओलीले आगामी ६ महिनाभित्र परराष्ट्रमन्त्री स्तरीय प्रयासमा विगतका सहमति, सन्धि र अधुरा कार्य पूरा गर्ने जिम्मेवारी पाएको बताइसकेका छन् । त्यसलगत्तै मोदीले अखण्ड नेपालप्रतिको प्रतिबद्धता दर्साएर भौगोलिक र क्षेत्रीय मामलामा भारत हस्तक्षेपको नीतिबाट टाढा रहेको संकेत गरे । अरुण तेस्रो ढिलै भए पनि बन्नेमा आस जागेको छ । दुई देशबीच व्यापार सन्धिको विस्तृत पुनरावलोकन, विद्युत् खरिद सम्झौताको पूर्ण कार्यान्वयन, इनर्जी बैंकिङ, संयुक्त चेकपोस्ट, सिमानामा जटिलता आउन नदिने दुई पक्षीय प्रतिबद्धता, एयर इन्ट्री रुट जस्ता महŒवपूर्ण विषयमा सकारात्मक वार्ता र प्रगति भएका छन्, यो भ्रमणमा । तेस्रो नेपाल यात्राका क्रममा भारतलाई हेर्ने दृष्टिकोण बदलिएर एकअर्काप्रतिको विश्वासको वातावरण मजबुत भएको छ । यो विश्वासलाई कायम राख्दै प्रधानमन्त्री ओलीको विश्वास जस्तै नेपाल–भारत सम्बन्ध सुदृढ हुनुपर्छ । मोदीले भनेजस्तै दुई देशबीचको सम्बन्ध पारिवारिक भए हामी समृद्धिको लक्ष्य निकट भविष्यमै भेट्नेछांै । आशा गरौं, भारतका प्रधानमन्त्रीको भ्रमणले यो मार्ग सजिलो बन्दै जानेछ ।