‘भैंसी सुन्दरी’ले दिएको सन्देश

‘भैंसी सुन्दरी’ले दिएको सन्देश

 

कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रले मुलुकमै पहिलोपटक ‘भंैसी सुन्दरी’ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सहभागी किसानले आफूले पालेको भैंसीको स्वास्थ्य, स्वरूप र उनीहरूले दिने दूधको आधारमा पुुरस्कार पनि प्राप्त गरे । युवायुवतीका विभिन्न पक्षलाई समेटेर विभिन्न शीर्षकमा प्रतियोगिता गरिए पनि यसखालको भैंसी प्रतियोगिता भने यो पहिलोपटक भएको हो । भैंसी सुन्दरी कहाँ किन र कति सहभागी थिए ? गौण विषय हो । तर, कृषिप्रधान मुलुकमा कम्तीमा भैंसी अनुसन्धान केन्द्रले भैंसीपालक किसानका बीचमा प्रतिस्पर्धा गरायो र किसानलाई पुरस्कार पनि प्रदान ग¥यो । सरकारले आर्थिक समृद्धिलाई मूल मुद्दा बनाएका बेला भैंसी अनुसन्धान केन्द्रले किसानलाई उद्यमशील बनाउने एउटा बिम्ब बनेको छ, भैंसी सुन्दरी प्रतियोगिता ।

नेपालको अर्थतन्त्र कृषिमा आधारित छ भने अहिले पनि ६५ प्रतिशत नागरिक कृषिमै आश्रित छन् । सीमित किसानले आधुनिक प्रविधि अपनाए पनि अधिकांश किसान परम्परागत शैलीमै निर्भर छन् । पहाड र तराई क्षेत्रमा बसोबास गर्नेमध्ये अधिकांशले भैंसी पाल्ने गरेका छन् । कुनै बेला लैना, बकेर्ना भैंसी घरको अनिवार्य आवश्यकता मानिन्थ्यो । तर, अहिले भैंसीपालन शैलीमा पनि परिवर्तन आउन थालेको छ । युवा पुस्ता वैदेशिक रोजगारीमा धाउन थालेपछि प्रायःको घर वृद्ध बाबुआमाले धानेका छन् भने दुईवटा भैंसी र एकहल गोरु धेरै परिवारका लागि बोझको विषय बन्न पुगेको छ । सोही कारण अचेल तराईदेखि पहाडसम्म भैंसी पाल्ने किसानको संख्यामा स्वाभाविक रूपमा कमी आउन थालेको छ । भैंसी जनावरमध्ये आर्थिक हिसाबले बहुउपयोगी मानिन्छ । दूध दिउन्जेल दूधका लागि प्रयोग गरिन्छ भने दूध दिन छाडेपछि मासुका लागि पनि भैंसीको उपयोग हुने गरेको छ । भंैसीको दूध गाईको तुलनामा बाक्लो हुने हुँदा बिक्री गर्नेले पनि राम्रो मूल्य पाउने गरेका छन् । यति हुँदाहुँदै पनि व्यावसायिक रूपमा भैंसी पाल्ने किसान थोरै छन् । धेरै गाउँमा अझै व्यावसायिक शैली विकास हुन सकेको छैन ।

भैंसी प्राणीजन्य वस्तु भएकाले कुनै पनि बेला मृत्यु हुन सक्छ । एउटा राम्रो भैंसीको मूल्य लाख रुपैयाँसम्म पर्ने भएकाले त्यस्तो भैंसी मर्दा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ । किसानलाई क्षति नहोस् भनेर कृषिसँग सम्बन्धित विभिन्न संघसंस्थाले कृषि बिमा सुरु गरेका छन् तर पनि किसानले बिमाको लाभ लिन सकेका छैनन् । सायद त्यही कारण हुन सक्छ भंैसी अनुसन्धान केन्द्रले भैंसीबीचमा प्रतियोगिता गरेर किसानलाई उत्साहित बनाएको छ । यस्ता कार्यक्रम मुलुकको कुनै एक स्थानमा मात्र सीमित पार्नुहुन्न । भैंसीका अतिरिक्त, बाख्रा, कुखुरापालक किसानबीच पनि यस किसिमका प्रतियोगिता गरिनुपर्छ । आशा गरौं, भैंसी अनुसन्धान केन्द्रबाट प्रभावित हुँदै अन्य संघसंस्थाले पनि यही प्रकृतिका कार्यक्रम गरून् र किसानहरू आफ्नो पेसाप्रति गर्व गर्ने अवस्थामा पुगून् ।