कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध, को को आए ?

राजधानी समाचारदाता
काठमाडौ

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको चयन हुन बाँकी सबै पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि सबै जना निर्विरोध भएका छन् ।

निर्वाचित हुने पदका लागि आवश्यक संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमितिमा सबै निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध हुनेहरुमा प्रदेश १ बाट डा. मीनेन्द्र रिजाल, प्रदेश २ बाट तेजुलाल चौधरी, ३ बाट दिव्यमणि राजभण्डारी, ४ बाट प्रकाश पन्थ, ५ बाट देवेन्द्रराज कँडेल, ६ बाट रंगमती शाही र प्रदेश ७ बाट दिलेन्द्रप्रसाद बडू छन् ।

त्यस्तै खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी÷जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेसीबाट जितेन्द्रनारायण देव र मिनाक्षी झा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारुबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित भएको श्रेष्ठले बताए ।

कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले मंगलबार विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्खास्तको समय तोकेको थियो । यस्तै निर्वाचन समितिले ७ जेठका लागि निर्वाचनको मिति समेत तोकेको थियो ।

दलको नेताको निर्वाचन भने २१ फागुनमा नै भएको थियो । दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेकोमा देउवा निर्वाचित भएका थिए । कार्यसमितिमा संसदीय दलको नेताले पाँच जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ ।