समृद्धि बनोस् दलको एजेन्डा

समृद्धि बनोस् दलको एजेन्डा

‘समृद्ध नेपाल सुखी नेपाली’को सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठकमा समृद्धिको विषयलाई उठाउन सकेका छैनन् । उनी एमाले पार्टी अध्यक्ष भएकाले पार्टीभित्रका बैठकमा समेत आर्थिक समृद्धिका मुद्दालाई जोडतोडका साथ उठाउन सक्नुपर्छ । एमाले मात्र होइन एमाओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टीका आन्तरिक बैठकमा समृद्धिको मुद्दाले स्थान पाएको छैन । कुनै पनि मुलुकको आर्थिक समृद्धि त्यतिबेला सम्भव हुन्छ जब हरेक राजनीतिक दलहरूले महŒवपूर्ण मुद्दाका रूपमा समृद्धिलाई स्थापित गर्छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भएको पाँच महिना बित्न लाग्दा समेत समृद्धिको मुद्दालाई दलहरूले आन्तरिक बैठकको विषय बनाउन नसक्दा ‘समृद्ध नेपाल सुखी नेपाली’ नारामै सीमित नहोला भन्न सकिन्न ।

केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइ समर्थन रहेकाले मुलुकलाई समृद्ध बनाउने कार्यमा कसैले पनि रोक्न सक्दैन । किनकि उनी अहिलेसम्मकै सबैभन्दा बलियो सरकारका प्रधानमन्त्री हुन् । जनमत प्राप्त सरकारलाई विकासको गति अघि बढाउँछु भन्दा कसैले पनि रोक्न सक्दैन । तसर्थ मुलुकलाई अघि बढाउने कि यथास्थितिमै राख्ने ओलीकै हातमा छ । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भयो तर कुनै पनि स्थानीय सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्न सकेका छैनन् । निर्वाचनमार्फत स्थानीय तहमा नयाँ जनप्रतिनिधि आए पनि उनीहरूको काम गर्ने तौरतरिकामा तात्विक परिवर्तन आउन सकेको छैन । अरू चार वर्ष पनि अहिलेकै शैलीमा बिताए भने आगामी निर्वाचनमा सहभागी स्थानीय तहका उम्मेदवारहरूले भाषणको विषयसमेत पाउन मुस्किल हुन सक्छ । जनसमर्थनको कुरा छोडौं । हरेक पार्टीको केन्द्रमा मात्रै हैन जिल्ला र प्रदेश तहका बैठकमा समेत समृद्धिकै मुद्दा महŒवका साथ उठ्नुपर्छ । अहिलेका जनता यति सचेत छन् एमाले वा कांग्रेसले फलानोका कारण काम गर्न सकिनँ भनेकै भरमा जनताले विश्वास गर्ने स्थिति छैन । यस अर्थमा कांग्रेस अझ बढी सशक्त हुनुपर्छ । किनकि ऊ प्रमुख प्रतिपक्ष दल हो । प्रतिपक्ष पार्टीको सुझाव एवं दबाब सत्ताधारी दलका लागि अघि बढ्ने बाटो हुन सक्छ ।

एमाले र माओवादी पार्टीको बैठक पार्टी एकताकै विषयमा अल्झिरहेको छ भने नेपाली कांग्रेस अझै चुनावी समीक्षामै केन्द्रित छ । पार्टी एकता वा चुनावी समीक्षा बैठककै विषय होला तर कति दिन एउटै विषयमा रुमल्लिइरहने दलका शीर्ष नेताहरू ? सोच्न जरुरी छ । हिजोका दिनमा स्थिति फरक थियो । कांग्रेस, माओवादी र एमालेबाहेक अन्य दलको विकल्प थिएन । एउटा दलको लोकप्रियता खस्किने बित्तिकै अर्को दलको भोट बढिहाल्थ्यो तर सधैं त्यही स्थिति रहिरहन्न भन्नेमा ठूला दलका शीर्ष नेता सचेत हुनैपर्छ । किनकि विवेकशील साझा, नयाँ शक्तिलगायतका दलहरू ठूला दलका विकल्पका रूपमा तयार हुँदै छन् । आफ्नो साख जोगाउनका लागि पनि दलहरूले समृद्धिको योजनालाई अघि बढाउनैपर्छ ।