मोदी भ्रमणको अन्तर्य

मोदी भ्रमणको अन्तर्य

नारायण पौडेल

निकै ठूलो तामझाम र सुरक्षासहित जनकपुरबाट नेपाल प्रवेश गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रोपटक नेपालको राजकीय भ्रमण सम्पन्न भएको छ । उनको नेपाल भ्रमणबारेको टीकाटिप्पणीले अझै प्राथमिकता पाइरहेका छन् । हुन त मोदी स्वयंले आफ्नो भ्रमणलाई तीर्थाटनका रूपमा परिभाषित गर्दै दुई देशीबीच प्राचीनकालदेखि सांस्कृतिक एवं धार्मिक सम्बन्ध रहेकोमा यो सम्बन्ध अझै बलियो भएको दाबी पनि गरे । उनले नेपालको आफ्नो दुईदिने भ्रमणमा विशेष गरी जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर र काठमाडौंको पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना गर्नुभन्दा बाहेक अन्य उल्लेख्य कार्य केही गरेनन् । मोदी यसपटक सिधै जनकपुरधाम पुगेर पूजाआजा र अभिनन्दन समारोहमा सरिक भए । विदेशी सरकार प्रमुख राजधानी नआई देशको अन्य भागबाट प्रवेश भएको यो पहिलो घटना हुन पुगेको छ ।
भारतीय सेनाको कमान्डो फोर्ससहित नेपाल आएका मोदीले नेपाल भ्रमणका बेला आफ्नोे विशेष सुरक्षा भारतीय सेनाबाटै गराए भने भारतीय विशेष विमान र गाडीको प्रयोग गरेर भ्रमण पूरा गरे । यसबाट के देखिन्छ भने नेपाल सरकार विदेशी राष्ट्र वा सरकार प्रमुखलाई सुरक्षा दिनसमेत सक्षम छैन वा विदेशी मित्रराष्ट्रलाई नेपालप्रति विश्वास छैन भन्ने सन्देश मोदीले विश्व समुदायलाई दिन सफलता प्राप्त गरे । त्यस्तै, भ्रमणकै सिलसिलामा भारतीय सांसदले जनकपुरलाई भारतमा गाभ्नुपर्ने भन्ने अभिव्यक्ति दिनु, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदपूर्ण संविधानविरुद्ध संघर्ष जारी रहेको बताउनु, मोदीको कार्यक्रमस्थलमा नेपाली सञ्चारकर्मीलाई निषेध तथा दुव्र्यवहार गरिनु, कञ्चनपुरको पुनर्वासमा विगतदेखि रहँदै आएको सीमा विवाद चर्कनुजस्ता विषयले भ्रमणलाई विवादित बनायो । तर, नेपाल सरकार यस्ता विवादित सवालमा मुख खोल्न तयार देखिँदैन ।

विगतदेखि नै भारतले नेपाललाई सहयोग दिने भनी जाहेर गरेका प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन हुन सकेका छैनन् । त्यसमाथि पछिल्लो भ्रमणमा पनि मोदीले जनकपुर क्षेत्रको विकासका लागि १ अर्ब रुपैयाँ सहयोग गर्ने बताए । तर, पहिलो भ्रमणका क्रममा व्यक्त गरेको १ अर्ब रुपैयाँ सहयोग, भूकम्पपछिको दाता सम्मेलनमा घोषणा गरेको १ अर्ब रुपैयाँ, पशुपतिनाथ दर्शनका क्रममा पशुपति क्षेत्रका विकासका लागि भन्दै घोषणा गरेको २५ करोड रुपैयाँलगायत नेपालका विभिन्न आयोजना तथा भौतिक संरचना निर्माणका लागि पटकपटक घोषणा गरिएका प्रतिबद्धता उसले पूरा गरेको छैन । यसबाट भारत कूटनीतिक रूपमा नेपालमा अन्य विदेशी राष्ट्रको सहयोग रोक्नकै लागि मात्र सहयोगको वचन दिएर अलमलमा पारी नेपालको स्थिरता, शान्ति र विकास अवरुद्ध पार्न चाहन्छ भन्ने स्पष्ट देखिन्छ । त्यसमाथि तेस्रो भ्रमणमा भारतीय सेनासहित नेपाल प्रवेश गरेका मोदीले नेपालमाथि प्रत्यक्ष सैन्य हस्तक्षेप गरेको तथ्यलाई सबैले बुझेका छन् । यसरी कूटनीतिक मर्यादाविपरीत मोदीले जसरी नेपालमाथि हस्तक्षेप गरे । सरकार पक्ष भने यो विषयमा मूकदर्शक मात्रै बनेको देखियो ।

२०७१ मा पहिलोपटक नेपाल आउँदा नेपालको संविधानसभामा सम्बोधन गर्दै मोदीले धेरै वर्षअघि एक पथिक यात्री तीर्थालुका रूपमा आफू नेपाल आएको बताएका थिए भने उनी युवावस्थामा हिमाली जिल्ला मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रमा बसेर साधना गरेको पनि बताइन्छ । त्यसैले होला, जनकपुरमा प्रदेश २ ले गरेको अभिनन्दन समारोहमा मोदीले नेपाल र भारतबीच पारिवारिक, सांस्कृतिक एवं धार्मिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालबिना भारत अधुरो हुने अभिव्यक्ति दिए । त्यस्तै, नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो हुनुका साथै भारतका विभिन्न धाम र राम पनि अधुरा हुने धारणा राखे । ‘इतिहास साक्षी छ, जब एकअर्काप्रति संकट आउँछ, तब भारत र नेपाल दुवै मिलेर सामना गरेका छन् । हामीले हरेक कठिन समयमा एकअर्कालाई साथ दिएका छौं । भारत दशकौंदेखि नेपालको स्थायी विकासको साझेदार रहँदै आएको छ । नेपाल हाम्रो छिमेक नीतिमा सबैभन्दा अगाडि आउँछ । आज भारत विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देश बन्नेतर्फ तीव्र गतिमा अगाडि बढिरहेको छ । त्यसरी नै नेपाल पनि तीव्र गतिमा अगाडि बढिरहेको छ, विकासको उचाइ चढिरहेको छ । आज यो साझेदारीको नयाँ ऊर्जा दिनका लागि मलाई नेपाल आउने मौका मिलेको छ । त्यसैले नेपालको विकासका लागि भारत शेर्पा बन्न चाहन्छ’ भन्नेजस्ता गुलिया अभिव्यक्ति दिन मोदी सफल भए । तर, उनको नेपाल भ्रमणबाट मुलुकलाई के फाइदा भयो र के बेफाइदा भयो भन्नेबारे नेपाल अनभिज्ञ नै रह्यो ।

अर्कोतर्फ मोदीको भ्रमणका बेला कतिपयले सामाजिक सञ्जालमार्फत २०७२ मा नेपालविरुद्ध भारतले लगाएको नाकाबन्दी बिर्सन नसकिने भन्दै उनले क्षमा माग्नुपर्ने टिप्पणी गरेका थिए । तर, मोदीले नाकाबन्दी शब्दको उच्चारणसमेत गरेनन् । उनले युद्ध अन्त्य गरेर शान्तिमा प्रवेश गरेको र तीन तहका निर्वाचन एकै वर्षमा सम्पन्न गराएको भन्दै नेपाललाई बधाई ज्ञापन गरेर नाकाबन्दीको विषयलाई ढाकछोप गरे । हुन त ‘मोदीलाई नेपालमा स्वागत छ तर नाकाबन्दी भुलेका छैनांै’ भन्ने नारासहित सडकदेखि सञ्चारमाध्यमसम्म विरोध भएको देखियो । यसरी विरोधमा उत्रिएका कतिपयलाई प्रहरीले पक्राउ ग¥यो भने विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर प्रहरी लगाएर हटाइयो । सायद यस्तै खालका कठिनाइलाई बुझेर होला, काठमाडौंमा गरिएको अभिनन्दन राष्ट्रिय सभागृहभित्र त्यसमा पनि विशिष्ट अतिथिको उपस्थितिमा सम्पन्न गराइयो । त्यस्तै, दुई दिन अगाडिदेखि पर्यटकलाई प्रवेश निषेध गरेर मुक्तिनाथ मन्दिर पु¥याइएका मोदीको मुक्तिनाथ भ्रमण ‘सेल्फी भ्रमण’का रूपमा चर्चामा रह्यो । फलस्वरूप भारतीय प्रधानमन्त्री नेपालमा तीर्थयात्राका लागि मात्रै आएका कारण उनको तीर्थयात्रा सफल भएको छ । साथै भ्रमणका क्रममा लुम्बिनीको पनि नाम लिएका मोदी निकट भविष्यमा फेरि लुम्बिनी भ्रमणको बहानामा नेपाल आउन सक्ने सम्भावना बलियो देखिन्छ ।

यता मोदीको भ्रमणलाई लिएर सरकारले ऐतिहासिक भ्रमणको उपमा दिँदै नेपाल–भारत सम्बन्ध थप बलियो भएको बताइएको छ भने प्रधानमन्त्री ओलीले ‘भारतले अब कहिल्यै नाकाबन्दी लगाउँदैन’ भन्ने अभिव्यक्ति दिएका छन् । जहाँ कि नाकाबन्दी र सीमा विवादको विषयले कहिँकतै प्राथमिकता पाएन । त्यसमाथि प्रदेश २ का मुख्यमन्त्रीले संविधानविरुद्ध दिएको अभिव्यक्ति, जनकपुरमा राखिएको नेपालको राष्ट्रिय झण्डा विवाद, भारतीय सेनाको नेपाल प्रवेश, भाजपाका सांसद कीर्ति आजादको जनकपुरलाई भारतमा मिलाउनुपर्ने आशयको ट्वीट, सीमामा चर्किंदै गएको विवादलगायतका विषयमा वर्तमान सरकार मौन देखियो किन ? के यही हो राष्ट्रवाद ? अनि
‘नाकाबन्दी बिर्सेका छैनौं’ भन्न पाउने कि नपाउने ? विगतमा भारतीय दूतावास अगाडि गएर एमालेले प्रदर्शन गर्न पाउने तर अहिले पार्टी कार्यालयमा ब्यानर राख्न पाउने कि नपाउने ? के सत्ताबाहिर हुँदाको राष्ट्रवाद र सत्तामा हुँदाको राष्ट्रवादमा फरक हुन्छ ?

भ्रमणमा भारतीय सेनासहित नेपाल प्रवेश गरेका मोदीले नेपालमाथि प्रत्यक्ष सैन्य हस्तक्षेप गरेको तथ्यलाई सबैले बुझेका छन् । यसरी कूटनीतिक मर्यादाविपरीत मोदीले जसरी नेपालमाथि हस्तक्षेप गरे । सरकार पक्ष भने यो विषयमा मूकदर्शक मात्रै बनेको देखियो

यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने भ्रमणमा उनको कतै स्वागत भयो त कतै नाकाबन्दीलाई लिएर उनी लक्षित विरोध भए । विभिन्न स्थलमा मोदीको स्वागत भइरहेका बेला देशका केही स्थानमा भने भारतले नेपालमा भूकम्प गएलगत्तै लगाएको नाकाबन्दीको विरोधमा प्रदर्शन भएका थिए । फलस्वरूप सुरक्षाकर्मीले सम्भावित विरोध जुलुस हुन नदिन ठाउँठाउँमा सुरक्षा तैनाथीसमेत बढाउनु परेको थियो । जसरी मोदीको भ्रमणको विषयलाई लिएर विरोध भए, ती विरोध कतिपय सन्दर्भमा कूटनीतिक मर्यादाविपरीत पनि थिए भने कतिपय अवस्थामा सान्दर्भिक पनि थिए । तर, यस्ता विरोधका कार्य सर्वसाधारण नागरिकका तर्फबाट आउन नदिनका लागि सरकार सदैव सचेत हुनुपर्छ र कूटनीतिक तवरले नै विवादको समाधान खोजिनुपर्छ । यस्तो संवेदनशील अवस्थामा सरकारले भने मोदीलाई गरिएको सम्मान र नागरिक अभिनन्दनप्रति सर्वसाधारणको विरोध हुनु सर्वसाधारण नागरिक विभाजित भएको अवस्थामा हुने सामान्य प्रक्रिया भएको टिप्पणी गरेको छ । अर्कोतर्फ मोदीको नेपाल भ्रमणले नेपालका प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद छताछुल्ल भएको टिप्पणी गर्न थालिएको छ । किनकि मोदी भ्रमणको क्रममा पाइलापाइलामा नेपाली राष्ट्रियता तथा स्वाभिमानमाथि धावा बोलिँदासमेत ओली सरकार निरीह देखियो ।

विगतमा अरूलाई राष्ट्रियताको पाठ पढाउने ओलीको यसपटक राष्ट्रियताको नक्कली मुकुन्डो उदांगिएको छ भने राष्ट्रवादको नक्कली जलप लिएर चुनावी मैदानमा उत्रिएका ओली नाकाबन्दीका कारण प्रताडित लाखौं नेपालीको पक्षमा एक शब्दसमेत खर्चन नसक्ने मोदी समक्ष निरीह देखिए । त्यस्तै, नेपालको राजधानी वा केन्द्रभन्दा प्रदेशलाई प्राथमिकता दिएको भारतीय कूटनीतिको नेपाल मूकदर्शक हुँदा भविष्यमा धेरै प्रक्रियागत त्रुटि उत्पन्न हुनसक्ने देखिन्छ । किनभने मोदी पहिला काठमाडौं नआएर सिधै जनकपुर पुगे भने उनलाई स्वागत गर्न ओली जनकपुर नै पुग्नुप¥यो ।
आफूलाई इतिहासकै शक्तिशाली प्रधानमन्त्री दाबी गर्ने ओलीले प्रदेश २ का मुख्यमन्त्रीको विवादित अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुबाहेक अरू केही गर्न सकेनन् । त्यस्तै, जनकपुरमा ओलीले मोदीझैं देखिने गरी राजस्थानी पोसाक लगाउनु उनको व्यक्तिगत विषय होला । तर, चन्द्रसूर्य अंकित नेपाली वीर योद्धाको इतिहास जोडिएको रक्तरञ्जित झण्डालाई लिएर गरिएको मजाकका कारण देशविदेशका सबै नेपालीको शिर निहुरिएको अवस्थामा मुलुकको राष्ट्रिय स्वाभिमानसँग जोडिएको झण्डा प्रकरणका विषयमा छानबिन समिति गठन गरी दोषीलाई कडा कारबाही गर्न ओलीलाई कुन कुराले रोकेको छ ? त्यस्तै, मोदी भ्रमणका क्रममा भारतीय कमान्डोको अनावश्यक उपस्थितिले नेपाली सार्वभौमसत्तामा गम्भीर प्रश्न खडा भएकोले यसको जिम्मेवारी वर्तमान ओली सरकारले लिनुपर्ने हुन्छ ।

त्यस्तै, प्रेस स्वतन्त्रताको वकालत गरेर नथाक्ने वर्तमान सरकारले नेपाली भूमिमा नेपाली सञ्चारकर्मीलाई निर्बाध समाचार तथा तस्बिर संकलनमा रोक लगाउनु अत्यन्त निन्दनीय काम भयो । यसप्रति सरकारको धारणा के हो स्पष्ट हुनुपर्ने देखिन्छ ।त्यसमाथि अरुण तेस्रोको उद्घाटन समारोहमा ऊर्जामन्त्रीको उपस्थिति किन भएन ? यो विषयमा स्वयं मन्त्रीले आफूलाई नबोलाइएको अभिव्यक्ति दिए पनि विशेषगरी सरकारको मनसाय के हो ? के अब पनि भारतलाई रिझाई सत्तामा बसिरहने राष्ट्रवादी प्रवृत्तिलाई परिवर्तन गर्नु आवश्यक छैन ? निर्वाचनको बेला जनतालाई प्रभावित पार्न के–कस्ता प्रतिबद्धता र घोषणा गरियो, यी विषय कार्यान्वयन हुनुपर्ने होइन ? यी र यस्तै प्रश्नबीच मोदीको तेस्रो नेपाल भ्रमण सकिएको छ भने ओलीलाई भारत भ्रमणको निम्तो दिएर मोदी दिल्ली फर्किसकेका छन् । त्यसैले, विगतदेखि अहिलेसम्म जेजस्ता कमीकमजोरी भए, आगामी दिनमा समाधान खोज्ने गरी कूटनीतिक पहल गर्नु नै नेपालको पहिलो आवश्यकता हुनेछ ।