कांग्रेसको आलोचना हजम हुन्न कि ?

कांग्रेसको आलोचना हजम हुन्न कि ?

ध्रुव लम्साल

‘मुक्तिनाथ जान भ्याइएको थिएन । भारतीय टेलिभिजन च्यानल हेरेर मन्दिरभित्रको स्थिति जान्न पाइयो ।’ लगनखेलस्थित चिया दोकानमा जम्मा भएका सर्वसाधारणको गफको मेलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै भ्रमणमा केन्द्रित थियो । ‘मोदीको राजकीय भ्रमणले मुलुकलाई कति फाइदा भयो, एमालेको राष्ट्रवाद कहाँ चुक्यो ?’ देखि ‘भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले कुन सन्दर्भमा ट्वीट गरे ?’ सम्ममा विषयमा छलफल भयो । एक जनाले नयाँ टपिक्समा कुनै कुरा राख्नेबित्तिकै छेउछाउमा बस्नेले सन्दर्भ जोड्थे र एउटा सन्दर्भ टुंग्याएर अर्को विषयमा गफ सुरु गर्थे ।
काठमाडांै महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्दा नेपाली पत्रकारलाई प्रवेश नदिएको, मुक्तिनाथ र रामजानकी मन्दिरबाट भारतीय च्यानलले लाइभ प्रसारण गरेको सन्दर्भमा सरकारको मज्जैले आलोचना गरे । बिहानभरि चियापसलमा जम्मा भएर अन्तर्राष्ट्रिय जगतका विषयमा आफूले जानेजति गफ दिनु नेपालीको विशेषता नै हो ।मोदी, भारत, चीन, चिनियाँ राष्ट्रपति सी जिङ पिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि उत्तर कोरियाली नेता किम जोङ उनसमेत अचेल चिया दोकानमा जम्मा हुनेको गफको मेलो बनेका छन् । अचेल नेपालीको गफको विषयमा अर्का पात्र पनि थपिएका छन्, आधुनिक मलेसियाका जन्मदाताका रूपमा चिनिने महाथिर मोहम्मद ।

सञ्चारसम्बन्धी बहसमा हामीले सञ्चारमाध्यमलाई ‘आवाजविहीनहरूको आवाज’ भनेर दाबी गरे पनि हामी वास्तवमै प्रमुख दलका शीर्ष नेता, ठूला व्यापारी वा सिंहदरबारकै वरिपरि केन्द्रित छौं । दूरदराजका दुःख एव साना मान्छेको समृद्धि खास समाचारको विषय बन्दैन । भारतीय प्रधानमन्त्री मोदीका विषयमा सर्वसाधारणले गरेको टिप्पणी समाचारको विषय नबन्नु अनौठो भएन । त्यही कारण पनि हुनसक्छ, आममान्छे बिहान चिया पसल वा चोकमा जम्मा भएर आफ्ना असन्तुष्टि व्यक्त गर्छन् ।
पछिल्लो समय सामाजिक सञ्जालले एउटा वर्गको आवाज प्रस्फुटित गर्न थालेको छ । त्यही सामाजिक सञ्जाललाई पनि कतिले आफ्नो कुण्ठा पोख्ने थालो बनाए होलान् त कतिले आफूलाई मन परेका दलका नेतालाई देवत्वकरण गर्ने मेलो बनाउन भ्याएकै छन् । जे होस्, सामाजिक सञ्जालमा एकछिन भुल्दा धेरै थरिका विचार सुन्न पाइन्छ । मोदीको नेपाल भ्रमणकै सन्दर्भमा सामाजिक सञ्जाल ट्वीटरमा ‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’ ह्याब्सट्रयाक टे«डिङमा पुग्यो ।

यसपालिको मोदी भ्रमणले नेपाललाई कति फाइदा भयो वा घाटा ? म त्यता जान्नँ । धेरै विद्वानहरूले चर्चा परिचर्चा गरिसकेका छन् । आम सर्वसाधारणको धारणाको सम्मान गर्ने हो भने भारतको बलमिच्याइँ प्रवृत्तिप्रति आमनागरिकमा देखिएको असन्तुष्टि छताछुल्ल भयो । केही एमाले कार्यकर्ता सामाजिक सञ्जालमा मोदीको उछित्तो काढ्नेविरुद्ध जाई नलागेका होइनन्, तर समग्रमा उनीहरू पराजित भएका छन् ।
सामाजिक सञ्जालमा देखिएको यस किसिमका आक्रोशलाई भारतीय दूतावास वा सरकारले एमाले विरोधीको आवाज मात्रै भनेर बुझ्यो भने एउटा अपरिपक्व बुझाइ हुने निश्चित छ । जनकपुर वा राष्ट्रिय सभागृहमा मोदीलाई गरिएको अभिनन्दनले युवा पुस्तामा देखिएको भारतविरोधी भावना मत्थर भएन, झन् नेपाली मिडियालाई प्रवेश निषेध गरेर भारतीय मिडियालाई हरेक मन्दिरमा लाइभ प्रसारण गर्न दिएको घटनाले एमालेको राष्ट्रवाद के हो ? भनेर प्रश्न गर्नेलाई बल पुगेको छ ।

मोदी नेपाल आएलगत्तै भाजपा सांसद कीर्ति आजादको ट्वीटले यो प्रस्ट पारेको छ, भारत नेपालको छिमेकी हो तर, असल छिमेकी होइन । हाम्रो मात्रै के कुरा, भारतका अन्य छिमेकी राष्ट्र पाकिस्तान र बंगलादेशसँग उसको सम्बन्ध हेरौं न । सीमाना जोडिएका अन्य दुई राष्ट्रसँग सधंै शत्रुतापूर्ण व्यवहार गर्ने मुलुकले हामीसँग मित्रवत सम्बन्ध राख्छ भनेर सोच्नु हामी आफैं मूर्ख हुनु हो । हामी आफैं केही गर्दैनांै तर अपेक्षा भारतबाटै गर्छौं । अनि हामीलाई हेप्छ । भारतले हामीलाई हेप्नुमा हामी भारतलाई दोष दिन्छौंं तर, हामी आफैं कति कमजोर छौं भनेर स्वमूल्यांकन गर्दैनौं । नेपाली समाजको विकासक्रमलाई हेर्ने हो भने हामीले सामाजिक विषयमा सधैं स्वाधीन छौं भनेर स्कुले नानी बाबुलाई पढायौं तर, स्वाधीन कहिल्यै भएनौं । जंगबहादुरको पालादेखि अहिलेसम्मको स्थितिलाई सूक्ष्म ढंगले हेरौं त । हामीले भारतका प्रधानमन्त्री, राष्ट्रपति, कलाकारलगायतलाई हामीले पटकपटक अभिनन्दन गरेका छौं । कहिले सम्बन्ध सुध्रेको शीर्षकमा ग¥यौं त कहिले सम्बन्ध बिग्रन नदिने भावमा । विकास निर्माणको कुरा छोडौं । सरकार बनाउन, टिकाउन र फेरि भत्काउन हामीलाई भारतकै साथ चाहिन्छ । यदि हामीले हाम्रा लागि आफैं केही गरेका थियौं भने बालुवाटारमा भारतीय राजदूतको आउजाउ यति सहज पक्कै हुने थिएन ।

भारतले नेपाललाई नाकाबन्दी गर्दा तत्कालीन समयको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नाकाबन्दी शब्द उच्चारण गर्नसमेत चाहेन। कांग्रेसकै कतिपय नेता कार्यकर्ता भाजपा कार्यकर्ताले बा“डेको खिचडी खा“दै सीमापारी गएर नाकाबन्दीको पक्षमा लम्पसार परेको यथार्थ घाम जत्तिकै छर्लंग छ

भारतबाट हामीले कति लिएका छौं । भारतले हामीलाई दिएको बजारभरि देखिन्छ । मोटरबाटो, पुल, सरकारी विद्यालय, बिरामी बोक्ने एम्बुलेन्स, उपचार गर्ने थरीथरीका इक्विप्मेन्ट केके हो केके । भारतले हामीलाई दिएको प्रस्टै देखिन्छ । यसको अर्थ यो होइन कि हामीले भारतलाई केही दिएका छैनौं । होइन भारतले हामीबाट सबथोक लगेको छ । तर, भारतका मन्त्री, प्रधानमन्त्री हाम्रा अगाडि दाताका रूपमा प्रस्तुत् हुन्छन् । हामीले भारतका लागि केके दिएका छौं बेलिविस्तार धेरै लाउन जरुरी छैन । राष्ट्र बैंकमा सायद तथ्य भेटिएला, भारतलाई रेमिट्यान्स बुझाउने नेपाल विश्वको सातौं मुलुकमा पर्छ । तर, हाम्रो सरकार कहिल्यै हामीले भारतलाई दिएको कुरा गर्ने हिम्मत गर्दैन । किनकि हरेक सरकारलाई थाहा छ, भारत रिसायो भने सरकार बनाउन मात्रै हैन भत्काउन पनि सक्छ ।

कांग्रेसले विरोध गर्नुको तुक छैन

नेपाली राजनीतिमा एउटा संस्कार व्याप्त छ । एमाले र कांग्रेसमध्ये एउटा पार्टी कमजोर हुनेबित्तिकै अर्कोलाई फाइदा हुन्छ । नेपाली राजनीतिमा अहिलेसम्म त्यही नै भएको छ । निर्वाचनमा जित हासिल गर्नका लागि कांग्रेस र एमालेले आफूलाई सुधार्न जरुरी छैन । एउटा पार्टी अलि बढी बिग्रियो भने अर्कोलाई प्रत्यक्ष फाइदा हुन्छ । हरेक चुनावको नतिजाले पनि प्रस्ट पार्छ ।
पछिल्ला केही वर्ष नेपाली कांग्रेस क्रमशः अधोगतितिर गएकाले वाम गठबन्धनलाई फाइदा पुगेकोमा कुनै शंका छैन । वाम गठबन्धनले मुलुकका लागि राम्रो गरेकाले चुनावमा धेरै सिट जितेको निष्कर्षमा पुग्नु अलि हतारो हुन्छ । तर, नेपाली कांग्रेसका नेताहरूमा अहिले एउटा भ्रम पैदा भएको छ । एमालेको आलोचना गर्नु हाम्रो धर्म हो र एमाले आलोचित भयो भने हाम्रो अंक बढ्छ । कांग्रेसका नेताहरू अब अलिकति गम्भीर हुनैपर्छ । अब केवल एमालेको आलोचना गरेकै भरमा अंक बढ्दैन । कांग्रेस वा एमालेको विकल्पमा अन्य पार्टीहरू पनि मैदानमा आइसकेका छन् ।

मोदी भ्रमणका सन्दर्भमा कांग्रेका नेताहरूले सरकारको आलोचना गरेको देख्दा लाग्छ, अब उनीहरू सरकारको आलोचना गरेकै भरमा कांग्रेसको पुरानो विरासत फर्किन्छ भन्ने मनस्थितिमा छन् । सचेत कांग्रेसले सोच्नैपर्छ ‘अब केवल सत्ताको विरोध गरेकै भरमा जनताले विश्वास गरिहाल्ने स्थिति छैन । जनता आफैं हिसाब किताबमा पोख्त भइसकेका छन् । विनाशकारी भूकम्पको पीडा झेल्दै गर्दाको समयमा भारतले नेपाललाई नाकाबन्दी गर्दा तत्कालीन समयको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नाकाबन्दी शब्द उच्चारण गर्नसमेत चाहेन । कांग्रेसकै कतिपय नेता कार्यकर्ता भाजपा कार्यकर्ताले बाँडेको खिचडी खाँदै सीमापारी गएर नाकाबन्दीको पक्षमा लम्पसार परेको यथार्थ घाम जत्तिकै छर्लंग छ ।

भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले जनकपुर भारतमै फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिका सन्दर्भमा पनि नेपाली कांग्रेसले एमालेले विज्ञप्ति निकालेर आपत्ति जनाएको एक दिनपछि मात्रै ‘आजादको आपत्तिजनक टिप्पणी’ भनेर विज्ञप्ति निकाल्यो । सरकारले सिन्डिकेटधारी बस व्यवसायीलाई पक्राउ गर्ने निर्देशन दिएको सन्दर्भमा पनि कांग्रेसले सिन्डिकेट पक्षधरलाई धरपकड गरेकोमा आपत्ति जनाएको थियो । कांग्रेस नेतृत्वलाई लागेको होला, अबको चार वर्ष ७ महिना सरकारको विरोध गरेकै भरमा अंक बढ्छ तर सम्भव छैन । नाकाबन्दीको बेला भारतकै पक्षमा लागेको कांग्रेसले मोदी भ्रमणको सन्दर्भमा सरकारको टिप्पणी गर्ने नैतिक हैसियत उहिल्यै गुमाइसकेको छ ।