पोखरामा प्रभु लाइफ इन्स्योरेन्सको शाखा

काठमाडौं / रास– प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा शाखा विस्तार गरेको छ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले जीवन बिमाको सम्भाव्य बजार धेरै भएकाले र बिमा कम्पनीले अन्य जीवन बिमा योजनासँगै स्वास्थ्य बिमा योजना समेत सञ्चालन गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष डा. रवीन्द्र श्रेष्ठले कम्पनीले व्यावसायिक उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बिमा एक दीर्घकालीन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई मनन गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

कम्पनीले जनताको सुरक्षा र समृद्धिको चाहनालाई ध्यानमा राख्दै समाजका सबै वर्गलाई समेटने किसिमका बिमा योजनाहरू कार्यान्वयनमा ल्याउने जानकारी दिए । कम्पनीले हाल २० शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने तयारी गरिरहेको छ ।