गरिमा विकास बैंकको गरिमा रेमिट सञ्चालनमा

काठमाडौं / रास– गरिमा विकास बैंकले गरिमा रेमिट सञ्चालनमा ल्याएको छ । मंगलबार एक समारोहबीच  बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले विकास बैंकले ग्राहकलाई प्रदान गर्ने सेवामा विविधीकरण गर्दै जाने क्रममा गरिमा रेमिटजस्तो महŒवपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याइएको बताए । उनले यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरूमा रहने गरिमा रेमिटका एजेन्टमार्फत एक स्थानबाट अर्को स्थानमा सहज रूपमा रकम स्थानान्तरण गर्न सकिनेमा जोड दिए । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  गोविन्दप्रसाद ढकालले वर्तमान प्रतिस्पर्धात्मक वातावरण, सेवाको विविधीकरण तथा ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको र छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्रान्ड बनाउने बताए । बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमयसम्बन्धी कार्य गर्ने तथा भिसा डेबिट कार्डसमेत सञ्चालनमा ल्याउने बताइएको छ ।

बैंकका हाल राजधानीमा ५ शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले छिट्टै नै झापाको दमक, काठमाडौंको नयाँ बानेश्वर, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बाँकेको नेपालगन्ज, दाङको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्ने जनाएको छ । यी शाखा कार्यालय स्थापनापछि बैंकका कुल शाखा संख्या ६६ पुग्नेछ ।

हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार रहेको छ । बैंकले २०७५ वैशाख मसान्तसम्म १८ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिसम्म बैंकले ४४ करोड सञ्चालन नाफा आर्जन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।